देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारविरुद्ध साना राजनीतिक दलद्वारा संयुक्त आन्दोलनको घोषणा

देशान्तर

मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दबाब दिन विभिन्न माग गर्दैै साना राजनीतिक दलले संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।

वाम–प्रजातान्त्रिक दुवै धारको राजनीति गर्दै आएका साना राजनीतिक दलले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न सरकारसँग माग गर्दै शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

नेकपा (माले)का महासचिव सीपी मैनालीले मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेपलाई रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नुपरेको बताए ।

‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिइएको सो समूहमा मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (बीपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्च, गोविन्द निरौला नेतृत्वको नेपाल समाजवादी कांग्रेस, शोभाराम थापा तेत्तीस दलीय मोर्चाको संयोजक, घनश्याम भण्डारी जनताको प्रजातान्त्रिक पार्टी भावना विद्रोही नेपाल संयोजक रहेको सर्वहारा कम्युनिस्ट पार्टी माओवादी, वीरेन्द्र कार्कीको जनमोर्चा पार्टीलगायतका नौ वटा राजनीतिक दल आबद्ध छन् ।

देशलाई आन्तरिक तथा बाह्य हस्तक्षेप हुन नदिन सरकारलाई दबाब दिन पनि आफूहरूले संयुक्त आन्दोलन सुरु गरेको पनि नेकपा मालेका महासचिव मैनालीको भनाइ छ ।

नेपाली कांग्रेस (बीपी)का उपसभापति झलक वाग्लेले संघीयताको नाममा मुलुकको पहिचान मेटाउने खालका सबै गतिविधि बन्द गराउन सरकारलाई दबाब दिन आफूहरू संयुक्त आन्दोलनमा होमिएको बताए । उनले नागरिकता जथाभावी वितरण गरिएकाले त्यसको छानबिनका लागि न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।