देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपत्यकामा मेट्रो रेल सञ्चालन गरिने

देशान्तर

सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ ।

सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बूढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रूपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डीपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो ।

विभागले डीपीआर तयार पार्न इच्छुक कम्पनीहरूसित प्रस्ताव (आरएफपी) मागेको थियो । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्ताव (आरएफपी) हालेका थिए । प्रस्तावकमध्येबाट मेट्रो रेल्वे निर्माणमा बढी अनुभव भएका ६ कम्पनी छनोट गरी विभागले उनीहरूसित डीपीआर तयार पार्नका लागि प्राविधिक र आर्थिक प्रस्ताव मागेको छ ।

ती कम्पनीको प्रस्ताव अध्ययनपछि साउन महिनाभित्रै उपयुक्त कम्पनी छनोट गरी डीपीआर निर्माण गर्न जिम्मा दिइने जानकारी मिश्रले दिए । डीपीआर तयार गर्न १२/१३ करोड रुपैयाँ लाग्ने अनुमान विभागको छ । ‘साउनभित्र डीपीआर तयार पार्न ६ वटा कम्पनीमध्येबाट एउटा छनोट गरिसक्छौं,’ मिश्रले कान्तिपुरसँग भने, ‘छनोट भएको कम्पनीले ढिलोमा डेढ वर्षभित्र डीपीआर तयार पार्नेछ ।’ डीपीआर तयार भएपछि संघीय राजधानीमा मेट्रो रेल्वे निर्माण प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ । मिश्रका अनुसार बूढानीलकण्ठबाट महाराजगन्ज हुँदै चक्रपथै चक्रपथ सातदोबाटोसम्म रेल्वे बनाइनेछ ।

पाँच सय जनासम्म यात्रु बोक्न सक्ने मेट्रो हरेक २ देखि ३ मिनेटको अन्तरालमा आउजाउ हुने गरी रेल्वे बनाउने तयारी छ । बूढानीलकण्ठबाट सातदोबाटोसम्म त्यति क्षमताको रेल्वेका लागि यात्रु पर्याप्त पुग्ने र रेल आर्थिक रूपमा फाइदाजनक हुने सम्भाव्यता अध्ययनले देखाएको मिश्रले जानकारी दिए ।

सरकारले आफ्नै खर्चमा उक्त ठाउँमा रेल्वे निर्माण गर्ने सोच बनाएको छ । मिश्रका अनुसार मेट्रो रेल जमिनमुनि, जमिनमा वा माथि इलिभेटेड कहाँबाट चल्ने गरी बनाउने भन्ने निर्णय भने डीपीआरका आधारमा तय हुनेछ । रेल्वे निर्माण र सञ्चालनका लागि कति लागत लाग्ने भन्ने कुरा डीपीआर तयार भएपछि थाहा हुने जानकारी विभागले दिएको छ ।

‘जमिनबाट रेल्वे बनाउन सस्तो पर्छ, भूमिगत टनेलबाट र माथि इलिभेटेड रेल्वे बनाउन बढी खर्च लाग्छ,’ मिश्रले भने, ‘कसरी बनाउने भन्ने कुरा डीपीआरबाट तय हुनेछ । त्यसपछि मात्र लागत थाहा हुन्छ ।’ रेल्वेका लागि कति जमिन अधिग्रहण गर्नुपर्छ भन्नेसमेत डीपीआर तयार भएपछि मात्रै भन्न सकिने विभागका अधिकारी बताउँछन् । रेल्वेको यात्रु ओराल्ने र चढाउने स्टेसन बनाउन भने जग्गा अधिग्रहण गर्नुपर्ने सम्भाव्यता अध्ययनले देखाएको छ ।

रेल्वेको बिसौनी चक्रपथ र बूढानीलकण्ठमा चल्ने बसको भन्दा कम संख्यामा हुने विभागका अधिकारी बताउँछन् । दोस्रो चरणमा सातदोबाटोदेखि चोभारसम्म रेल्वे निर्माण गर्ने विभागको योजना छ । उक्त ठाउँमा रेल्वे निर्माणका लागि बूढानीलकण्ठदेखि सातदोबाटोसम्मको डीपीआर तयार पार्ने कम्पनीले नै सम्भाव्यता अध्ययन गर्ने जानकारी मिश्रले दिए ।