देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज कम्युनिष्ट पार्टीका संस्थापन नेता पुष्पलालको ४१ औँ स्मृती दिवस

देशान्तर

काठमाडौँ । आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले विसं २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइ लड्ेका थिए । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर सङ्गठन विस्तारमा लागे । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन समेत गरेका थिए ।

पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुन । पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता भए । स्मृति दिवसका अवसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले मंगलबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल लगायतको उपस्थिति रहनेछ ।

नेकपा स्थापना गर्दा पुष्पलालले घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो । यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो ।

नेकपाको स्थापना कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । कम्युनिष्ट घोषणापत्रको नेपाली रूपान्तरण गर्दै पुष्पलालले ‘केही कुरा’ शीर्षक दिएर लेखेका िथए । घोषणापत्रमा उनले भनेका िथए ‘विश्व मजदूर आन्दोलनलाई सही बाटो देखाउने शक्ति र साहस प्रदान गर्ने उक्त घोषणापत्रलाई नेपाली भाषामा प्रकाशित गरी नेपाली मजदूर वर्गको आन्दोलनलाई सही बाटोमा लैजान अत्यन्त आवश्यक भएको हुनाले यस घोषणापत्रलाई यथासक्य परिश्रम गरी नेपाली भाषामा उल्था गरी नेपालको सम्मान राखेको छु ।’

यसलाई नेपाली मार्क्सवादीले मार्क्सवादी चेतना र साहित्यको थालनीका रुपमा समेत अर्थ्याएका छन् । दाजु गंगालाको हत्या पश्चात् राणाशाहीको जरो काट्ने प्रण पुष्पलालले गरेकाथिए । त्यतिखेर उनी १५ वर्षका किशोर थिए । पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उनको जन्म भएको थियो । पिता भक्तलाल रामेछापमा मालका सुब्बा रहेका थिए । पछि छोराका कारणले जागिर खोसिएको थियो ।