नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी र केन्द्रीय समितिको बैठक साउनभित्रै बस्ने लक्ष्य रहेको एकजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा मंगलबार कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी एकताको प्रक्रिया करिबकरिब निष्कर्षमा पुगिसकेको बताए।
‘पार्टी एकताको एक दुईवटा विषयमा औपचारिकता दिनमात्रै बाँकी छ। केही दिनभित्र हामी सबै कुरा टुंग्याउँछौं’, उनले भने, ‘यही साउन महिनाभित्र नै पार्टी एकताका रयलपयल काम पनि टुंग्याउने, स्थायी समिति र केन्द्रीय समितिको बैठक पनि बस्ने हाम्रो लक्ष्य छ।’
प्रचण्डले केन्द्रीय समितिको बैठकबाट देशव्यापी अभियानमा जाने कार्यक्रम तय हुने बताए।
नेकपाको स्थायी समिति गत मंसिर २९ देखि पुस १३ सम्म बसेको थियो। पार्टी विधानमा स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्ने प्रावधान छ। त्यस्तै, ६/६ महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक पनि अघिल्लो जेठमै बसेदेखि फेरि बसेको छैन।





प्रतिक्रिया