काठमाडौ — आजका लागि बोलाइएको नेकपा सचिवालय बैठक स्थगित भएको छ । वैचारिक विषयसँग सम्बन्धित स्कूल विभागको नेतृत्वको जिम्मेवारी ईश्वर पोखरेलाई कि नारायणकाजी श्रेष्ठलाई दिने भन्ने भन्नेबारे विवाद सुल्झाउन नसकेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय सचिवालय बैठक नै पर धकलेको छ।
एकताको झण्डै १४ महिनापछि असारको अन्तिम साता यता पार्टी एकताले पूर्णता पाउने संकेत देखा परेपनि पार्टीको महत्वपूर्ण र शक्तिशाली मानिएको स्कूल विभागको नेतृत्वका लागि पूर्व एमाले र माओवादीको आआफ्नै दाबी कायमै रहेपछि बैठक नै स्थगित गर्नु पर्ने अवस्था आएको हो ।
उक्त विवादसँगै अन्य एकताका बाँकी काम टुंग्याउने भन्दै आइतबार बसेको बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जको नामलाई मात्रै अन्तिम रुप दिएर मंगलबारका लागि बैठक आव्हान गर्ने निर्णमा पार्टी नेतृत्व पुगेका थिए।
तर पार्टी उच्चस्रोतले पोखरेल र श्रेष्ठबीचको झगडाले पूर्व एमाले र माओवादी पार्टीलाई नै खल्बलाउने स्थिति देखा परेको दाबी गरेको छ। सोमबार त्यसै विषयलाई लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले करिव तीन घण्टा छलफल गरेपनि निष्कर्षमा पुग्न नसकेपछि बैठक नै स्थगित गर्ने निर्णय गरेका थिए। अर्को बैठक साउन ९ गतेका लागि बोलाइएको छ। स्कुल विभागको नेतृत्व छिनोफानो गर्न सक्नुले नेकपामा अझै पनि वैचारिक विषयमा स्पष्ट मतभेद रहेको देखाउँछ।
खासगरी राजनीतिक प्रतिवेदनको लेखनीमा भूमिका खेलेका श्रेष्ठले प्रतिवेदनमा उल्लेख भएअनुसार जनताको जनवादलाई टेकेर पार्टी अघि बढ्नु पर्ने धारणा राख्दै आएका छन्। पोखरेल भने आफ्नो पूर्वपार्टी एमालेका नेता मदन भण्डारीारा प्रतिपादित सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’का पक्षमा उभिएका छन्।





प्रतिक्रिया