देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१८ सय ठेकेदारलाई कारबाही गर्न अख्तियारलाई आग्रह

देशान्तर

ठेक्का ओगटने तर लामो समयसम्म काम नगर्ने १८ सयभन्दा बढी ठेकेदारमाथि छानबिन गरी कारबाही गर्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित आग्रह गरेको छ । गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौताबमोजिम समयमै काम नगरेका ठेकेदारको नामसहित कारबाहीका लागि अख्तियारमा पठाइएको जानकारी दिए ।

थापाले ठेक्कामा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने कुरा भ्रष्टाचारसँग जोडिएको टिप्पणी गरे । ‘गैरजिम्मेवार ठेकेदारलाई कारबाही गर्न र सुशासन कायम गर्न सकेनौं भने समृद्धि सम्भव छैन,’ उनले भने, ‘काम नगर्ने ठेकेदारलाई कानुनसम्मत ढंगले कारबाही प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भने, ‘काम नगर्ने ठेकेदारहरूमाथि अनुसन्धान गर्ने कुरामा अख्तियार पनि लागिपरेको छ ।’ मन्त्री थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरेर निर्माण व्यवसायीलाई ठीक ठाउँमा ल्याउने र विकास निर्माणका काम समयमै पूरा गर्ने गरी प्रयास भइरहेको जानकारी दिए ।

अख्तियारका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले ठेक्का ओगटेर लामो समयसम्म काम नगरेका निर्माण व्यवसायीमाथि छानबिन भइरहेको जानकारी दिए । उनका अनुसार ठेकेदार र जिम्मेवार अधिकारीको लापरबाहीका कारण १८ सय ४८ आयोजना रुग्ण बनेको पाइएको छ । आयोगले यसबारे ६ महिनाअघि अनुसन्धान गरेर रिपोर्ट सार्वजनिक गरेको थियो । कोइरालाका अनुसार अनुसन्धानका क्रममा अधिकांश ठेक्कामा पेस्की रकम बुझेर पनि काम नगरेको पाइएको छ । ‘अति रुग्ण आयोजनामा भ्रष्टाचार र अनियमितता भएको आशंका छ,’ उनले भने, ‘यस्ता आयोजनालाई आयोगले अनुसन्धानको दायरामा राखेको छ ।