काठमाडौं । सरकारले असारको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण हालसम्म १०८ मृत्यु भएको जानकारी दिएको छ भने ३३ जना हराइरहेका र ४६ जना घाइते भएको जनाएको छ ।
प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबाहादुर थापाले घर आवासको क्षतिको विवरण सम्बन्धित मन्त्रालयबाट सङ्कलन गर्ने कार्य भइरहे भन्दै प्रारम्भिक सूचनाअनुसार हजारौँ घरमा क्षति पुगेको बताए ।
मनसुनी वर्षा मुलुकभर नै भए पनि बाढी, पहिरो र डुबानबाट गुल्मी, रौतहटलगायत ३५ जिल्ला प्रभावित भएको उनले जानकारी दिए । गृहमन्त्री थापाले सम्पूर्ण घाइतेको निःशुल्क उपचार र प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाइसकेको बताए ।
राहत तथा उद्धारलाई प्रभावकारी तुल्याउन तीनै तहका सरकारसँग मिलेर काम गरिरहेको जानकारी दिँदै गृहमन्त्री थापाले उद्धारका लागि ४१ हजार २०४ भन्दाबढी सुरक्षाकर्मी परिचालन भइरहेको जानकारी दिए ।
बाढीपहिराको चपेटामा परेका तीन हजार ३३३ जनालाई उद्धार गरिएको पनि उनले जानकारी दिए । गृहमन्त्री थापाले उद्धार र राहतमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, नेपाल रेडक्रस सोसाइटी र स्थानीयवासीको सहयोग रहेको जानकारी दिए । मृत्यु भएका परिवारलाई एक लाखका दरले राहत वितरण कार्य शुरु गरिएको तथा राजमार्ग अवरुद्ध भए पनि विभिन्न उपायबाट खोजतलास र उद्धारको काम भइरहेको गृहमन्त्री थापाले जानकारी दिए ।
प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको तथा डुबान परिवार पानीको सतह घटेसँगै आ–आफ्नो स्थानमा फर्केनेक्रम जारी रहेको सो अवसरमा जानकारी दिइयो ।
राहत र उद्धारको कार्यलाई प्रभावकारी तुल्याउन सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी सञ्चार र समन्वयका साथ स्रोत र साधन परिचालन गरिएको जानकारी सो अवसरमा दिइयो । प्राकृतिक प्रकोपबाट सिर्जित समस्यालाई कसरी समाधान गर्न विभिन्न उपायको खोजी भइरहे पनि त्यसको कारक भने मानव जाति नै हुन भन्ने ठम्याइ रहेको उनले बताए ।





प्रतिक्रिया