देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एसईई परीक्षाको ग्रेडवृद्धिबारे मन्त्रालयको झुटो दाबी

देशान्तर

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षा सञ्चालन सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको सूचना भूलवश प्रकाशित भएको मन्त्रालयले दाबी गरेको छ।

तर मन्त्रालयका सचिव नै उपाध्यक्ष रहेको बोर्ड बैठकले गरेको निर्णय भूलवश छापिएको भन्ने गलत दाबी गरेर मन्त्रालयले आफ्नो कमजोरी लुकाउन खोजेको स्पष्ट भएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार १२ गते सार्वजनिक गरेको थियो। असार १४ गते बोर्डले एसईईमा दुई विषयमा सी वा त्यसभन्दा तल्लो ग्रेड ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने सूचना जारी गरेको थियो। सूचनाअनुसार विद्यार्थीलाई परीक्षा फारामसमेत भर्न लगाएको थियो।

तर अकस्मात् शिक्षा मन्त्रालयले असार २० गते सी ग्रेड ल्याउने सबै विषयमा परीक्षा दिन पाउने व्यवस्था गर्न परीक्षा बोर्डअन्तर्गत एसईई सञ्चालन गरिरहेको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको थियो। व्यवस्थापन तयारीमा चासो नदिइ मन्त्रालयले एक्कासी परीक्षामा सबै विद्यार्थीलाई सहभागी गराउनु भन्ने निर्देशन दिएको भन्दै पनिकाले असन्तुष्टि जनाएको थियो। परीक्षा सञ्चालनका लागि पर्याप्त बजेट र कर्मचारी नदिएको, कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने नियन्त्रक उपसचिव स्तरको भए पनि एसईई सञ्चालन गर्ने नियन्त्रक सहसचिव स्तरको राखेर मन्त्रालयले पक्षपात गरेकोलगायत विषयमा असन्तुष्टि जनाउँदै परीक्षा नियन्त्रक (कक्षा १०) विष्णु अधिकारीले मन्त्रालयमा निवेदन दिएका थिए।

उनले आफूलाई परीक्षा नियन्त्रण कार्यालयबाट हटाइदिन समेत निवेदनमा अनुरोध गरेका थिए। यी विषयमा समाचार सार्वजनिक भएपछि मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर स्पष्टीकरण दिएको हो। प्रवक्ता वैकुण्ठ अर्यालले जारी गरेको विज्ञप्तिमा अक्षरांक पद्धती कार्यान्वयन कार्यविधी २०७२ ले सी वा सीभन्दा तल्लो ग्रेड ल्याएका विद्यार्थीलाई ग्रेड वृद्धि परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरेकाले सोहीअनुसार असार २० गते बोर्डलाई निर्देशन दिएको दाबी गरेको छ।

तर मन्त्रालयको दाबी झुटो भएको यसअघिका घटनाले पनि प्रमाणित गर्छन्। गत वर्ष पनि परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक भएपछि दुई विषयमा मात्र सी वा सोभन्दा तल्लो ग्रेड ल्याएकाले मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने सूचना जारी गरेको थियो। तर पहिलो नतिजामा अत्यन्त थोरै विद्यार्थीले मात्र उच्च ग्रेड ल्याएको र तल्लो ग्रेड ल्याएका धेरै विद्यार्थी कक्षा ११ मा भर्ना हुनबाट वञ्चित भएको गुनासो आएपछि सी वा तल्लो ग्रेड आएका सबै विषयको परीक्षा दिन पाउने व्यवस्थासहित दोस्रो सूचना जारी गरेको थियो।