देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आगामी मसिंर १४ सम्ममा उपनिर्वाचन गराउन आयोगको प्रस्ताव

देशान्तर

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानहरुमा मसिंर १४ गते शनिबार निर्वाचन गराउन उपयुक्त हुने प्रस्ताव गरेको छ । राजनीतिक दलहरुसँगको परामर्शपछि आयोगले सरकारलाई आफ्नो परामर्श सहितको उक्त प्रस्ताव गरेको हो । उक्त मिति उपयुक्त ठहर भएमा मन्त्रिपरिषद्ले मिति घोषणा गर्ने छ ।

तीनवटै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगको सुझाव छ । प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन् । तीनवतै तहको निर्वाचन २०७४ सालमा भएको थियो ।

स्थानीय तहको निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तथा प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको मिति सरकारसँगको परामर्शमा आयोगले तोक्ने कानुनी प्रावधान छ । सरकारले स्थानीय तहको मिति तोकेपछि सोही दिन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराउने गरी मिति तोक्ने आयोगको तयारी छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपनिर्वाचन सन्दर्भमा छलफल गरेका छन् । त्यसपछि आयोगमा राजनीतिक दलहरुसँग समेत परामर्श गरी आयोगले मिति सिफारिस गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन दुई वर्ष अगाडिमा मसिंरमै भएको थियो । स्थानीय तह निर्वाचन भने त्यो भन्दा अगाडि वैशाखदेखि असोजसम्म तीन चरणमा सम्पन्न भएको थियो ।