देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्री बिना मगर मेलम्चीलाई अलपत्र छाडेर निजी कम्पनी प्रवर्द्धनमा

देशान्तर

मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको ८ महिना भयो । करीब ९७ प्रतिशत काम सकिएको राष्ट्रिय गौरवको यो आयोजना पूरा भए संघीय राजधानीका लाखौं वासिन्दा पिउने पानीको दैनिक समस्याबाट मुक्त हुने थिए ।

तर उपत्यकावासीलाई यो समस्याबाट छुटकारा दिलाउने जिम्मा पाएको खानेपानी मन्त्रालयको नेतृत्व लिइरहेकी मन्त्री बिना मगरको प्राथमिकता भने मेलम्चीमा भन्दा अन्तै बढी भएजस्तो देखिएको छ ।

गत पुसमा मुख्य ठेकेदार कम्पनी सीएमसी दि रिभेन्नाले ठेक्का तोडेयता आयोजनाका काम अघि बढ्न सकेका छैनन् । त्यसको करीब ६ महिनापछि मन्त्रिपरिषद् निर्णयबाट नयाँ ठेकेदार कम्पनी छनोट गरिए पनि सरकारले उसलाई काम गर्ने वातावरण बनाइदिन सकेको छैन ।
पुरानो मुख्य ठेकेदार (सीएमसी दि रिभेन्ना) ले आफ्नो रकम नतिरेको भन्दै स्थानीयवासी र स्थानीय ठेकेदारले अहिले काम ठप्प पारिरहेका हुन् ।

‘अहिलेको अवस्था हेर्दा मेलम्ची खानेपानी आयोजनाका निमित्त मन्त्री–सचिव लगायत सम्बन्धित अधिकारीहरू चौबीसै घण्टा खटिनुपर्ने हो,’ पूर्वसहरी विकास सचिव किशोर थापाले भने, ‘मेलम्ची किन ढिला भयो भन्ने राष्ट्रिय बहसको विषय भइसकेको छ । मन्त्रीले अन्य ठाउँमा नअल्झिएर बढी ध्यान यसमै केन्द्रित गर्नुपर्छ ।’

मन्त्री मगरको दैनिकी भने थापाले अपेक्षा गरेजस्तो छैन । पछिल्ला २ दिन उनी सहभागी कार्यक्रमहरू मात्रै हेर्दा उनको प्राथमिकता सरकारी योजनाका काममा भन्दा पनि निजी कम्पनीको प्रवर्द्धनमा बढी भएजस्तो देखिन्छ ।

मन्त्री मगरले बिहीवार ‘नेसनल एग्रिकल्चर एन्ड फरेस्ट्री प्रालि’ले नेदरल्यान्ड्सबाट भित्र्याएको प्रेसरबाट पानी तान्ने प्रविधिको ललितपुरको गोदावरी र ठैबमा परीक्षण गरिन् भने शुक्रवार उनी रसुवाको पानी विदेश निर्यात गर्ने निजी कम्पनीको प्रवर्द्धनमा व्यस्त रहिन् ।

गौतम महर्जनको लगानीमा खुलेको नेसनल एग्रिकल्चर एन्ड फरेस्ट्री प्रालिले पहाडी क्षेत्रमा प्रेसरको माध्यमबाट पानी तान्न सक्ने प्रविधि भित्र्याएको दाबी गरेको छ । अर्को निजी ‘रुद्रगंगा नेचुरल वाटर कम्पनी’ले रसुवा जिल्लाका हिमशृंखलाबाट बगेर आउने पानी ‘स्प्रिङ वाटर’ लाई विदेश निर्यात गर्ने योजना बनाएको छ ।

पछिल्लो कम्पनीको पानी निर्यात योजनाबारे जानकारी गराउन शुक्रवार राजधानीको याक एन्ड यती होटलमा आयोजित करीब आधा घण्टाभन्दा लामो पत्रकार सम्मेलनमा मन्त्री मगरले ठप्प रहेको मेलम्ची आयोजनाका कामकारबाहीबारे एक शब्द पनि बोलिनन् । बरु विदेशमा पानी निर्यात गर्ने योजना सुनाइन् ।

हिमशृंखला र हिमनदीबाट खेर गइरहेको पानीलाई विदेशमा निर्यात गरिछाड्ने उनको अठोट थियो ।