देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनावर धपाउन हानेको गोली लागेर डोटीमा एक युवकको मृत्यु

देशान्तर

जंगली जनावर भगाउन हानेको गोली लागेर डोटीमा शनिबार राति एक युवकको ज्यान गएको छ। जिल्लाको आदर्श गाउँपालिका–५ लामीखाल तल्लो ढाडावन बस्ने अन्दाजी ५० वर्षीय जङ्गे भुलले राति १० बजेर ४० मिनेटको समयमा चलाएको गोली लागेर सोही ठाउँका पुने लुहारका छोरा अन्दाजी १९ वर्षीया तपेश लुहारको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। तपेशको टाउकोमा गोली लागेको थियो। स्थानीय सलामीढाडा सामुदायिक वन नजिकै गगने भाट र पुने भाटको खेतको किनारमा जङ्गे भुलले एक नाले भरुवा बन्दुक चलाउँदा गोली तपेशलाई लागेको जनाइएको छ। घटना भएलगत्तै इलाका प्रहरी चौकी आदर्शका प्रमुख प्रहरी नायव निरिक्षक धर्मानन्द जोशी नेतृत्वको टोलीले गोली चलाउने व्यक्ति र बन्दुक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। घटनाको मुचुल्का तयारी र विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको टोली आइतबार बिहानै घटनास्थल पुगेको डोटी प्रहरीले जनाएकाे छ।