मुस्लिम धर्माबलम्बीले आज आफ्नो महान चाड बकर इद मनाउँदै छन् ।
हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।
बकर इदका अवसरमा आज प्रदेश २ र ५ ले प्रदेशस्तरीय निर्णय गरेर आज सार्वजनिक बिदा दिएका छन् ।
आजको दिन मुस्लिम धर्माबलम्बीहरु मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गर्छन । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेको छ ।
नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक परिपाटि छ ।





प्रतिक्रिया