आज देशभर हिन्दु धर्मालम्बिहरुले प्रत्येक वर्ष जस्तै श्रावण शुक्ल पूर्णिमाका अवसरमा मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्व मनाउदै छन् ।
बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गर्छन । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।
सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
आजकै दिन ब्राहृमण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवि) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।
रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ ।
तेस्तै, काठमाण्डौको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा बिहानैदेखि मेला लाग्ने गर्छ ।
क्वाँटी खाने दिन
जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वषरयामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।

नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
संस्कृत दिवस मनाइदै
संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रसारमा सहयोग पुर्याउने उद्देश्यले दोस्रो विश्व संस्कृत दिवस आज बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
गत वर्षदेखि जरो किलो प्रतिष्ठान नेपालले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन विश्व संस्कृत दिवस मनाउन थालेको हो । प्राचीनतम् भाषा संस्कृतको विश्वमै उपयोगिता र महत्व बढ्दै गए पनि यसको उदगमस्थल नेपालमा भने चासो कम हुन थालेकाले दिवस मनाउन शुरु गरिएको हो ।





प्रतिक्रिया