काठमाडौँ । एकसाता अघि सिंगापुर पुगेर नेपाल फर्किएर फेरी सिंगापुरमा जाने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार खर्च संकाको घेरामा परेको छ । स्वास्थ्यजाँच गरी फर्केर ओली फेरी उपचारकै लागि सिंगापुर जादैछन । तर मुलुकको प्रधानमन्त्री स्वास्थ्य उपचार गराउन विदेश जाँदा प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जनाताले जान्ने मौका भने पाएनन् ।
लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुकको प्रधानमन्त्रीको स्वास्थ्य स्थिति लुकाउने सायद नेपालमात्रै एउटा देश होला । बहालवाला प्रधानमन्त्रीको स्वास्थ्य स्थिति यसरी लुकाउनुपर्ने आवश्यकता कि आइप¥यो ? यतिबेला सर्वत्र प्रश्न उब्जेको छ ।
उनको स्वास्थ्य अवस्था लुकाउने योजनाअन्तर्गत नै सिंगापुरमा लाग्ने उनको उपचार खर्च सरकारले नबेहोर्ने घोषणा गरियो । तर उपचार खर्च निजी स्तरबाट भए पनि प्रधानमन्त्री भने मुलुककै भएकाले स्वास्थ्य अवस्थाबारे जानकारी दिनु सरकारको कर्तव्य थियो ।
सिंगापुरबाट आएलगत्तै प्रधानमन्त्री ओलीको क्रिटिनाइट बढेको र अवस्था नाजुक रहेको चर्चा चल्यो । तर त्यस्तो हल्ला जनमानसमा फैलिइसक्दा पनि उनको आधिकारिक मेडिकल रिपोर्ट भने सार्वजनिक गरिएन । बरु एक्कासि प्रधानमन्त्रीले बाहिरी हल्लालाई चुनौती दिँदै आफू अझै २०–२५ वर्ष बाँच्ने उद्घोष गरे ।
चिकित्सकहरूले आफूलाई अझै २०–२५ बाँच्ने बताएको भन्दै ओलीले आफू बिरामी भएको हल्ला चलाउनेको हुर्मत लिने काम गरे । ओली आफूले मौखिक रूपमा त्यसो भने उनको स्वास्थ्य अवस्थाबारेको आधिकारिक मेडिकल रिपोर्ट भने अझैसम्म पनि सार्वजनिक गरिएको छैन । यसले प्रधानमन्त्री र सरकार जनताप्रति कत्ति पनि उत्तरदायी रहेनछन् भन्ने प्रष्ट भएको छ ।
ओलीको उपचार खर्च राज्य नबेहोर्ने घोषणा गरिए पनि उनको खर्च कस्ले बेहो¥यो भन्ने कुरा पनि बाहिर ल्याइएको छैन । जबकि प्रधानमन्त्रीका खर्च विवरण पारदर्शी हुनुपर्ने हो । सिंगापुरजस्तो महँगो देशमा उपचार गराउनलाई ओलीले कसरी खर्चको जोहो गर्ने भन्ने नखुलाउनु आफैंमा शंकास्पद विषय हो ।
जानकार सूत्रका अनुसार उपचारका लागि भनेर १० दिनसम्म सिंगापुर बस्दा ओलीको सम्पूर्ण खर्च एकजना मेडिकल माफियाले गरिदिएको थियो । उपचार खर्च वीरगन्जको नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दीन अन्सारीले गरिदिएको खुलासा भएको छ ।
उपचार खर्च उनले बेहोरे पनि ओलीसँग सिंगापुर जाने सबैको हवाई भाडा र ओलीको भ्रमण दलमा सामेल सरकारी कर्मचारीका लागि सरकारले खर्च व्यहोरोको थियो । तर त्यो खर्च कति भयो सरकारले सार्वजनिक गर्न उचित ठानेको छैन । प्रधानमन्त्रीका साथमा श्रीमती राधिका शाक्य, निजी चिकित्सक, प्रधानमन्त्रीका स्वकीय सचिव, प्रमुख राजनीतिक सल्लाहकार र सुरक्षाकर्मी गएका थिए ।
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिंगापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने बताएको केही दिनपछि प्रधानमन्त्रीको टोलीमा विवादास्पद नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दीन अन्सारी देखिएका थिए । प्रधानमन्त्रीका सल्लाहकार अच्युत मैनाली र अन्सारीको काँधमा काँध मिलाएर सिंगापुरमा घूमघामको तस्बिर सार्वजनिक भएको थियो । नेकपा निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीको उपचार खर्चको व्यवस्था गर्नका लागि अन्सारी सिंगापुर गएका थिए ।
नेसनल मेडिकल कलेजका सञ्चालक अन्सारी काठमाडौंमा समेत मेडिकल कलेजको स्वीकृति लागि सरकारमा रहेकाहरूलाई प्रभावित पार्न लागिपरेका थिए । डा. गोविन्द केसीको आन्दोलनमा पनि काठमाडौं घट्टेकुलो रहेको मापदण्डसमेत नपुगेको नेसनल मेडिकल कलेजलाई स्वीकृति नदिन माग गरिएको थियो । प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको खर्च आफैंले बेहोर्ने, भ्रमण टोलीको आवत्जावतको टिकट खर्च मात्रै सरकारले बेहोर्ने मन्त्रिपरिषद्को साउन १६ गतेको बैठकले निर्णय गरेको थियो ।





प्रतिक्रिया