काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा समसामयिक राजनीतिक विषयमा मात्रै छलफल भएको छ । बालुवाटारमा करिब साढे दुई घण्टा चलेको बैठकमा प्रधानमन्त्री ओलीले दक्षिणपन्थी र उग्रवामपन्थीबाट राज्य प्रणालीमाथि प्रहार हुन लागेको भन्दै प्रमुख राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व लिएको १७ महिनापछि पहिलोपटक सर्वदलीय बैठक बोलाएर यस्तो सहयोगको आग्रह गरेका हुन् । बैठकमा प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुप्रति असहिष्णु बनेर काहिँ पुग्न नसकिने भन्दै सरकारका काम कारबाहीमै परिवर्तन गर्न आग्रह गरेका थिए ।
संसदप्रति पूर्ण उत्तरदायी बन्दै सरकारले ल्याएका विवादास्पद विधेयकहरु फिर्ता लिन देउवाले आग्रह गरेका थिए । मिडियालाई नियन्त्रण गर्नेगरी विधेयकहरु आएको भन्दै त्यसप्रति आपत्ति समेत प्रकट गरेको बैठकमा सहभागी एक नेताले बताए ।
बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधन लगायतका विषयमा आफ्नो पार्टीले राखेको माग पुरा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
राजपा अध्यक्ष राजकिशोर यादवले पनि संविधान संशोधनको मुद्दालाई अघि सारेका थिए । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्वाङले संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारीको नियुक्तिको विषयलाई चाडै नै टुंग्याईने बताए । सर्वदलीय बैठकको छलफलको एजेण्डामा भने यो विषय प्रवेश नभएको बताइएको छ ।
बैठकमा विपक्षी नेताहरुले प्रधानमन्त्रीको स्वास्थ्यस्थितीका बारेमा पनि चासो राखेका थिए । प्रधानमन्त्री ओलीले बाहिर विभिन्न हल्लाहरु आइरहेको भन्दै आफ्नो स्वास्थ्यमा ठूलो समस्या देखा नपरेको बताएका थिए ।





प्रतिक्रिया