देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा सुरु

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। बुधबारका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएर स्थगित भएको बैठक आज (बिहीबार) केहीबेर अघि सुरु भएको हो।

पार्टी महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गतेको बैठकमा विभिन्न १४ वटा एजेण्डाहरु छलफलका लागि पेश गरेका थिए । त्यसमध्ये आजको बैठकमा भातृसंस्थाबारे छलफल हुने कांग्रेसले जनाएको छ। भातृ संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने, विधान अनुसार अवधि समाप्त भएका भातृ संघका सम्बन्धमा बैठकमा छलफल हुने कार्यसूची छ।

कांग्रेसको नेपाल विद्यार्थी संघ विघटित छ। थपिएको समयमा अधिवेशन गर्न नसकेको भन्दै नैनसिंह महर नेतृत्वको समिति भंग गरिएको थियो। त्यसपछि नयाँ कार्यसमिति बन्न सकेको छैन। यता नेपाल तरुण दल चार जना पदाधिकारीको भरमा सञ्चालित छ। तीन वर्ष कार्यकाल रहेको तरुण दलको अहिलेको कार्यसमितिको समयावधि सकिन अब चार महिनामात्र बाँकी छ। तर कार्यसमितिले पूर्णता पाउन सकेको छैन।

नेपाल दलित संघ, नेपाल किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र नेपाल ठाकुर समाजको विधान अनुसार अवधि सकिएको छ। समयावधि सकिएका भातृसंस्थालाई अधिवेशनका लागि समय दिने कि विघटन गर्ने भन्नेमा केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ।