देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विश्वविद्यालयमा दलीय भागवण्डा रोक्न नेविसंघको खबरदारी र्‍याली

देशान्तर

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयका पदाधिकारी नियुक्तीमा हुने दलिय भागबण्डालाई रोक्न खबरदारी र्‍याली निकालेको छ । राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ती गर्ने परम्पराले विश्वविद्यालयहरुको शैक्षिक वातावरण धमिलिएको र व्यापारिक अखडामा रुपान्तरण भएको भन्दै नेविसंघले खबरदारी र्‍यालीको अयोजना गरेको हो ।

उल्लेख्य संख्यामा भेला भएका विद्यार्थीहरुले माईतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म ‘हाम्रो शिक्षा हाम्रो देश, भागबण्डामुक्त शैक्षिक परिवेश’ भन्ने नारा लगाउँदै र्याली निकालेका थिए । खबरदारी र्‍याली आयोजनाको संयोजन नेविसंघ नेता नवराज त्रिपाठीले गरेका थिए । र्‍यालीपछि नयाँ बानेश्वरमा कोणसभा आयोजना गरिएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले नेबिसंघलाई शैक्षिक आन्दोलनमा लाग्न आव्हान गर्दै, दलीय भागबण्डाका आधारमा नियुक्त भएका पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिए । एक फरक प्रसङ्गमा काफ्लेले नेपाली कांग्रेस पार्टीभित्र पनि नैतिकता र विधानको पालना नभए बिद्रोह गर्ने बताए।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघका नेता त्रिपाठीले नैतिकता र ज्ञान हासिल गर्ने विश्वविद्यालयलाई नै सरकारले अनियमितताको अखडा बनाएकोप्रति चिन्ता व्यक्त गरे । उनले विश्वविद्यालयमा दलिय भागबण्डा नरोकिए त्यसका विरुद्ध नेबिसंघ कडा संघर्षमा उत्रने चेतावनी दिए । त्रिपाठीले विश्वविद्यालयको नेतृत्वमा विशुद्ध शैक्षिक र प्राज्ञिक व्यक्तित्वहरुलाई ल्याइनुपर्ने बताए । उनले विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तीका लागि सरकारले एक स्वतन्त्र र स्वायत्त छनोट समिति गठन गनुपर्ने र उक्त समितिले योग्यता र कार्यदक्षताको आधारमा पदाधिकारी नियुक्ती सिफारिस गर्नुपर्ने जोड दिए ।

कोणसभालाई नेबिसंघका निवर्तमान उपसभापति रामप्रसाद अधिकारी, युवराज पाण्डे लगायतका नेताहरुले सम्बोधन गरेका थिए । नेबिसंघ नेता मानिष सिम्खडाले माग कार्यान्वयन नभएसम्म चरणबद्ध रुपमा दबाब कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिए । कार्यक्रममा गोपि सिवाकोटी, बिपिन अधिकारी, निमा गिरि, रत्नहरि ढुंगेल, शैलेन्द्र शर्मा, सुदिप शर्मा, हरि आचार्य, निरञ्जन थापा लगायतका नेविसंघ नेताहरुको उपस्थिति रहेको थियो।