काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नै सरकारले ल्याएको ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक’ सच्याउने गरी संशोधन प्रस्ताव दर्ता गराएको छ । नेकपाका सांसदहरुले राष्ट्रियसभामा रहेको सो विधेयकका विवादित व्यवस्थाहरु सच्याउने गरी सोमबार संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
मिडिया काउन्सिल गठन र दण्ड जरिबानासम्बन्धी विधेयकमा प्रस्तावित व्यवस्थामा सरोकारवालाहरुले आपत्ति जनाएका थिए ।
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने र सरकारको नियन्त्रण बढाउने गरी विधेयक ल्याइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को विरोध गरेको थियो । चौतर्फी विरोधपछि सत्तारुढ दल नेकपाले पत्रकार महासंघसँग छलफल गर्दै विधेयकमा भएको कमजोरी सच्याउने प्रतिबद्धता जनाएको थियो ।
सोही प्रतिबद्धताअनुसार नेकपाले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएको हो ।
विधेयकमा रहेका मिडिया काउन्सिल गठन र दण्ड जरिबानाको विषय विवादित बनेको थियो । सत्तारुढ नेकपाका सांसदहरुले ती व्यवस्थाहरुमा पनि संशोधन हालेका छन् ।
‘२५ हजार देखि १० लाखसम्म जरिबाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्न संशोधन प्रस्तावमा भनिएको छ ।
सत्तारुढ सांसदहरुले पत्रकार बन्नका लागि परीक्षा उत्तीर्ण हुनुपर्ने र व्यवसाय दर्ता गर्नुपर्ने गरी संशोधन प्रस्ताव राखेका छन् ।





प्रतिक्रिया