पोखरा । संगठन विभाग प्रमुख भएर उपाध्यक्ष बन्ने समेत पक्कापक्की भइसकेपछि नेकपाका नेता वामदेव गौतम अब चुनाव जितेर सांसद् हुने सपनासमेत देख्न थालेका छन् । चुनाव हारेर विक्षिप्त बनेका गौतमले सांसद् हुनलाई पटकपटक कोसिस गर्दै आएका छन् । तर जब जब उनले अर्को कुनै विजयी सांसद्लाई राजीनामा गराएर चुनाव लड्ने चर्चा चल्यो तब तब कार्यकर्ता र जनस्तरबाट सहनै नसक्ने विरोध खेप्नु पर्यो । तर अहिले आएर उपनिर्वाचनको मौकामा उम्मेदवार बन्ने लालसा वामदेवमा फेरि पलाएको छ । नेकपा स्रोतका अनुसार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्थानमा गौतमले उम्मेदवार बन्ने मनशाय व्यक्त गरेका छन् ।
आउँदो मंसिर १४ गते प्रतिनिधिसभामा मुलुकभर रिक्त रहेका स्थानमा उपनिर्वाचन गर्ने घोषणा भइसकेको छ । यही उपनिर्वाचनमा स्व. अधिकारको क्षेत्र कास्की २ मा पनि चुनाव हुँदैछ । सुरुमा काठमाडौंका सांसद् रामवीर मानन्धरलाई राजीनामा गराएर चुनाव लड्ने प्रयास गरेका वामदेवले अधिकारीको मृत्युलगत्तै कास्की २ बाट चुनाव लड्न आफू इच्छुक नरहेको बताएका थिए । तर अहिले आएर भने भित्रभित्रै उनले चुनावको तयारी गरिरहेको स्रोतले बतायो ।
तर कास्कीका पूर्वएमालेहरू रवीन्द्रको क्षेत्रमा उनकै पत्नी विद्या भट्टराई उम्मेदवार बन्नुपर्ने पक्षमा उभिएका छन् । यही मेसोमा पूर्वमाओवादीहरूले भने वामदेवलाई उम्मेदवार बन्न उक्साइरहेको स्रोतले बतायो । पार्टीको संगठन विभाग र उपाध्यक्षजस्तो जिम्मेवारी पाएपछि शक्तिशाली नेता बन्ने वामदेवलाई कास्कीमा उठाएर हराउन पाए उनको शक्ति क्षीण गर्न सकिने नेकपाभित्रका पूर्वमाओवादी पक्षीय नेताहरूको बुझाइ छ । त्यसैले कास्कीमा विद्याभन्दा वामदेव कमजोर उम्मेदवार सावित हुने भन्दै उनीहरू गौतमलाई उम्मेदवार बनाउने लविङमा जुटेका हुन् ।
नेकपाका पूर्वएमाले नेतादेखि कार्यकर्ताको पहिलो रोजाइ रवीन्द्र पत्नी विद्या नै हुन् । रवीन्द्रको निधनपछि पोखरा आएका वामदेवले नै पहिलोपटक विद्यालाई उम्मेदवारी दिनुपर्ने मुख खोलेका थिए । तर अहिले आएर आफैं बन्ने मनसुवा प्रकट गरेपछि यसले नेकपाभित्र खैलाबैला मच्चाएको बताइन्छ । वामदेवले आफू उम्मेदवार बन्न रवीन्द्र पत्नी विद्यालाई राष्ट्रियसभा सदस्यको ललीपप पनि देखाएको बुझिएको छ । तर विद्याले भने अहिले नै आफ्नो निर्णय सुनाइसकेकी छैनन् ।





प्रतिक्रिया