देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेलम्ची खानेपानी आयोजना पीडितमाथि प्रहरी हस्तक्षेप 

देशान्तर

मेलम्ची खानेपानी आयोजना पीडितमाथि प्रहरीले हस्तक्षेप गरेको छ । हिजोबाट आन्दोलित मजदुर तथा सप्लायर्समाथि आज साढे ३ बजे प्रहरीले हवाई फायर गर्नुका साथै अश्रुग्याँस प्रहार गरेको हो । बटालियन ठेकेदार कम्पनी सिएमसीले एक अर्ब ६८ करोड रुपैयाँ नतिरी ठेक्का तोडेर फर्किएपछि स्थानीयसहित आन्दोलित थिए । सिएमसीले तिनुपर्ने रकम सरकारले दिनुपर्ने माग राख्दै उनीहरु आन्दोलित भएका हुन् । आज अम्बाथान सुरुङ प्रवेश गर्ने स्थानमा प्रहरीसँग झडप भएको हो । प्रहरीले रबरको गोली र अश्रुग्याँस प्रहार गर्दा दुई जना घाइतेसमेत भएका छन् । आयोजना पीडित संघर्ष समितिका संयोजक विष्णुमणी आचार्यका अनुसार मजदुरहरु सन्तोष चौधरी र बालमुकुन्द अधिकारी घाइते भएका हुन् । झण्डै ३ सय ५० जना उपस्थित रहेको आन्दोलित समूहले खानेपानी आयोजनाको उपकरणहरु तोडफोडसमेत गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । सिएमसीले ठेक्का तोडेर नौ महिनाअघि नै हिँडेको थियो । सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प छ । आयोजना र नेपाल सरकारले जफत गरेको रकम आफूहरुले पाउनुपर्ने माग उनीहरुको छ । सिएमसीको धरौटी, आयोजनाबाट भुक्तानी हुन बाँकी, एक अर्ब मूल्य बराबरको उपकरण, निर्माण सामग्रीलगायतका रकम आयोजना र नेपाल सरकारले जफत गरेको थियो । सो रकम आफूहरुले पाउनुपर्ने उनीहरुको माग छ । मोटरलगायतका उपकरण सप्लाई गरेको बिरा मोटर्सले मात्रै सिएमसीसँग ८० करोड रुपैयाँ लिन बाँकी छ । सिएमसीले ठेक्का तोडेपछि अहिले मेलम्चीलाई काठमाण्डौं लैजाने जिम्मा चिनियाँ सिनो हाइड्रो कम्पनीले पाएको छ । बाँकी काम सम्पन्न गर्नका लागि गरिएको ठेक्का प्रक्रिया अन्तर्गत दुई प्याकेजमा ठेक्का लगाइएको थियो । सिनो हाइड्रोले हेडवक्र्सतर्फ २९ प्रतिशत विलोमा गएर ९० करोडमा र सुरुङतर्फ १५ प्रतिशत विलोमा गएर ७५ करोडमा ठेक्का पाएको हो । नयाँ कम्पनीले काम गर्ने भएपछि सिएमसीसँग पैसा लिन बाँकी सप्लायर्स र मजदुरले आफ्नो पैसा नपाए आन्दोलनको चेतावनीसमेत दिएका छन् । तिर्न बाँकी रहेका सप्लायर्स तथा मजदुरहरुलाई सिएमसीले भुक्तानी गर्नुपर्ने रकम प्रमाणिकरण गरेर कागजपत्र दिएको छ ।