देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीले अभिभावकत्व लिइएका विद्यार्थीलाई पठाए दशैँ खर्च

देशान्तर

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले डेढ वर्षअघि भर्ना अभियानमा अभिभावकत्व लिइएका विद्यार्थीबारे चासो दिँदै उनीहरूलाई दशैँ खर्च पठाएका छन् । सिरहाको कल्याणपुर नगरपालिका–११ स्थित रामदुलारी मावि र मुगुका दुई विद्यालयमा भर्ना गरी अभिभावकत्व लिइएका ती विद्यार्थीलाई प्रधानमन्त्री ओलीले नेपालीहरूको महान् चाड दशैँका अवसरमा प्रगतिको कामनासहित जनही पाँच हजार रुपैयाँ खर्च पठाएका हुन । ती सबै विद्यार्थी अहिले कक्षा २ मा अध्ययनरत छन् ।

उक्त खर्च निजी सचिवालयलमार्फत सोमबार सम्बन्धित विद्यालयको प्रधानाध्यापक र विद्यार्थीका अभिभावकको समन्वयमा बैंकमा जम्मा गराइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्रीले देशका सबै बालबालिकाको उज्ज्वल भविष्यको कामना गर्दै उचित शिक्षाको प्रबन्धका लागि नीतिगत सुधारको पहल गर्दै आउनुभएको र थप सकारात्मक सन्देश प्रवाहका लागि ती विद्यार्थीलाई प्रतिनिधिका रूपमा सहयोग गरेको उनको सचिवालयले जनाएको छ ।

यसअघि ती विद्यार्थीलाई गत पुस र साउनमा पनि आर्थिक सहयोग र स्टेशनरी पठाइएको थियो ।

दुई वर्षभित्र मुलुकबाट निरक्षरता हटाउने घोषणासहित शुरु भएको भर्ना अभियानअन्तर्गत प्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्यले २०७५ वैशाख १ गते कर्णाली प्रदेशको मुगु र वैशाख ६ गते प्रदेश नं २ को सिरहामा कक्षा १ मा ती विद्यार्थी भर्ना गराई अभिभावकत्व ग्रहण गरेका थिए ।