काठमाण्डौं । आगामि १४ मंसिरमा हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि ५२ प्रकारका मतपत्र छपाइको काम सकिएको छ । ती मतपत्र र निर्वाचन सामाग्री सम्बन्धित निर्वाचन क्षेत्रमा र्पुयाउने जिम्मा नेपाली सेनालाई दिइएको छ । भिन्नाभिन्नै पार्टीका र भिन्नाभिन्नै स्वतन्त्र उम्मेदवार भएकाले ५२ प्रकारका मतपत्र छाप्नुपरेको निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारि दिए ।
निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार उपनिर्वाचन हुने क्षेत्रमा मतपत्र ढुवानी सुरु भइसकेको छ । मंसिर ७ गते सबै निर्वाचन क्षेत्रमा मतपत्र र निर्वाचन सामग्री र्पुयाइसक्ने लक्ष्य छ । मतपत्रलगायतका निर्वाचन सामग्री संवेदनशील भएकाले ढुवानीको जिम्मा नेपाली सेनालाई दिइएको निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच निर्वाचन आयोगले आजबाट निर्वाचन शिक्षा सुरु गर्दैछ । निर्वाचन शिक्षा ११ गतेसम्म चल्ने छ । ११ गते रातिदेखि मौन अवधि सुरु हुन्छ ।
उपनिर्वाचन हुने क्षेत्रका प्रत्येक वडामा दुई जनाका दरले मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ । उनीहरुले घरघरमा गएर मत बदर नहुने किसिमले मतदान गर्ने तरिका सिकाउने छन् ।





प्रतिक्रिया