देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भक्तपुरमा पार्टीको झण्डा बोक्नेलाई मतदाता शिक्षामा खटाएको भन्दै दलहरुको आपत्ति

देशान्तर

भक्तपुर। भक्तपुरमा पार्टीको झण्डा बोक्ने कार्यकर्तालाई मतदाता शिक्षा दिन गाउँगाउँमा परिचालन गरेको भन्दै उपनिर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले निष्पक्ष व्यक्ति परिचालन गर्न माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मतदाता शिक्षा प्रदान गर्नका लागि मङ्सिर ६ देखि ११ गतेसम्मका लागि प्रत्येक वडामा दुई जनाका दरले १० वटा वडामा २० जना मतदाता शिक्षा कार्यकर्ता नियुक्ति गरी परिचालन गरेको छ ।

तर नेपाली काँग्रेसका जिल्ला सचिव एवं प्रतिनिधि निशान ढुङ्गेलले निर्वाचन कार्यालयले हचुवाको भरमा मतदाता शिक्षा कार्यकर्ता छनोट गर्न नहुने भन्दै निष्पक्षताको सुनिश्चित हुनुपर्ने बताए ।

यस्तै नेकपाका नेता शम्भु दङ्गालले उपनिर्वाचनमा सहभागी भएका दलहरुसँग परामर्श नगरी पार्टीको झण्डा बोक्ने व्यक्तिलाई मतदाता शिक्षा दिन परिचालन गरेको भन्दै यो कार्यक्रम तत्काल रोक्नुपर्ने बताए ।

तेस्तै, नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि पाण्डव सुवालले मतदाता शिक्षा दिने व्यक्तिले नै चुनाव चिह्नको उदाहरण दिँदै आफू निकट दलको पार्टीको चुनाव चिह्नमा मतदान गर्न सिकाउने भएकाले मतदाता शिक्षाको औचित्य नभएको बताए ।

यता निर्वाचन आयोगले भने गत निर्वाचनमा मतदाता शिक्षा कार्यकर्ताका रुपमा परिचालन भएको ५७ मध्ये २० जनालाई छनोट गरी परिचालन गरेको भन्दै मतदाता शिक्षा कार्यक्रम रोक्न भने नमिल्ने बताएको छ ।
-रासस