काठमाडौं । वर्तमान सरकारका मन्त्रीहरूमध्ये सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा सर्वाधिक विवादित पात्र हुन् । सरकारका प्रवक्ताको जिम्मेवारीसमेत सम्हालेका बाँस्कोटाको तीतो, छुद्र र गैरराजनीतिक बोलिले जनमानसमा सरकारप्रति नकारात्मक दृष्टि बनाउन मद्दत गरिरहेको नेकपाकै नेताहरू बताउने गर्छन् ।
पार्टीभित्र खासै योगदान नरहे पनि केपी शर्मा ओलीको हनुमानगिरीको भरमा राज्यमन्त्री हुँदै मन्त्री बन्ने अवसर पाएका बाँस्कोटाले सरकारको बदनामी गराएको नेकपाकै धेरै नेताहरूको बुझाइ छ । त्यतिमात्रै होइन कार्यसम्पादन मूल्यांकनमा पनि उनी कमजोर नै सावित भएका छन् । उनी समानको मूल्यांकन भएका रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी छोड्नु प¥यो । तर बाँस्कोटाको पद भने टसमस भएन । आखिर किन ?
धेरै नेकपा नेताहरूको मनमा यो प्रश्न उब्जेको छ । जानकार सूत्रका अनुसार बाँस्कोटाको पद जोगिनुमा दूर सञ्चार प्राधिकरण र मुद्रण विभागले भूमिका खेलेको छ । बाँस्कोटा प्रधानमन्त्री ओली दम्पतीको चाकडीमा दत्तचित्त छन् । ओलीको बालकोट निवासको रेखदेख उनैले गरिरहेका छन् । ओलीलाई बुवा सम्बोधन गर्ने बाँस्कोटालाई ओली पत्न राधिकाले पनि उत्तिकै माया गर्छिन् । राजनीतिक योगदानभन्दा ओलीको पारिवारिक सदस्यको रूपमा ओली निवासमा योगदान गरेका बाँस्कोटालाई ओलीले अर्बौको खरिद र ठेक्काको बेला सञ्चार मन्त्रालयबाट अलग गर्न नचाहेको स्रोतले बतायो ।
स्रोतका अनुसार दूरसञ्चार प्राधिकरणले अप्टिकल फाइबर र फोरजी विस्तारमा करिब ६२ अर्बको ठेक्का लगाउँदैछ । उक्त ठेक्का हुवावेलाई दिने तयारी भइरहँदा बाँस्कोटालाई निकाल्नु ओलीको लागि फाइदाजनक हुने थिएन । त्यतिमात्रै होइन, सञ्चार मन्त्रालयले सेक्युरेटी प्रेस खरिद गर्ने प्रक्रियासमेत अघि बढाएको छ । केही महिनाअघि प्रधानमन्त्री ओलीको युरोप भ्रमणका बेला सेक्युरेटी प्रिन्टिङ खरिद गर्ने सम्बन्धमा फ्रान्सको एक कम्पनीसँग जीटूजीको नाम दिएर सम्झौता गरेर आइसकेका छन् ।
त्यसपछि मन्त्री बाँस्कोटा आफैं फ्रान्स पुगेका थिए । सेक्युरिटी प्रिन्टिङ स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा नेपालको सुरक्षण मुद्रण केन्द्र र फ्रान्स सरकारको स्वामित्वमा रहेको भनिएको आईएनजीआरओयूपीईबीच सम्झौता भइसकेको छ । ५० अर्बभन्दा बढीको उक्त खरिददारीको प्रक्रिया सुरु भइसक्दा बाँस्कोटा मन्त्रालयबाट अलग हुने प्रश्नै नआउने नेकपाकै एक नेताले देशान्तरलाई बताए ।





प्रतिक्रिया