देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपनिर्वाचन: मौन अवधि सुरु, आचारसंहिताको पालना गर्न आयोगको अपिल

देशान्तर

काठमाडौं । आगामि शनिबार हुनगइरहेको उपनिर्वाचनका लागि गएराति १२बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नरगराउन राजनीतिक दललगायत आम मतदातामा अपिल गरेको छ।

आयोगले बुधबार पत्रकार सम्मेलन गरी मंसिर १४ गते उपनिर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको जानकारी गराउँदै सो अवधिमा आचारसंहिता उल्लंघनका कुनै पनि क्रियाकलापमा संलग्न नहुन राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई आव्हान गरेको हो। आचारसंहिताविपरीतका कार्य गर्नेलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार कारबाही गरिने भन्दै आयोगले मौन अवधिमा सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरि मत माग्न, प्रचार प्रशार लगायतका कार्य नगर्ने सचेत गराएको छ।

आयोगले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गरि निर्धक्क रूपमा मतदाताले मताधिकारको प्रयोग गर्ने अवस्था निर्माण गर्न सबैसँग अपिल गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मौन अवधिमा मतदातालाई आश्वासन दिने, प्रलोभनमा पार्ने, दबाब दिने, मतदाता परिचयपत्र कब्जा गर्ने जस्ता घटना भएमा तुरुन्तै जिल्ला उपनिर्वाचन आचारसंहिता अनुगमन समिति वा सम्बन्धित निकायलाई जानकारी गराई सहयोग गर्न पनि आग्रह गरे।

सम्पुर्ण तयारी पूरा
आयोगले उपनिर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी पूरा भएको पनि जनाएको छ। आयोगले उपनिर्वाचन पर्यवेक्षणका लागि ४ वटा राष्ट्रिय पर्यवेक्षण संस्थाहरूलाई अनुमति प्रदान गरेको छ।

प्रतिनिधिसभातर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ उपमहानगरपालिका, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका वडाअध्यक्षसमेत गरी ५२ रिक्त पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनका लागि २ सय ४७ मतदान स्थल, ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्।