देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन मतदाताहरूलाई आग्रह 

देशान्तर

काठमाडौं । निर्वाचन आयोगले भोलि हुने उपनिर्वाचनमा निर्धक्क भएर भाग लिन मतदाताहरूलाई आग्रह गरेको छ ।
आयोगले आज भिडिओमार्फत सन्देश सार्वजनिक गर्दै प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको हो । उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरूले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय झल्कने फोटोसहितको कुनै पनि परिचयपत्र देखाएर मतदान गर्न पाउने आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको एकीकृत सुरक्षा योजना तर्जुमा गरिएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुने वातावरण बनेको बताउनुभयो । उपनिर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय पर्यवेक्षण संस्थाहरूले अनुमति पाइसकेको र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई समेत अनुमति प्रदान गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार ३७ जिल्लामा २ सय ४७ मतदान स्थल तथा ५ सय ३७ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायत सुरक्षकर्मीहरू आवश्यक मतदान सामग्रीहरूसहित गत बुधबार साँझ नै पुगिसकेका छन् ।

उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि १ जना, प्रदेश सभा सदस्यतर्फ ३ जना, उपमहानगरपालिका प्रमुख १ जना, गाउँपालिका अध्यक्षका लागि ३ जना, गाउँपालिका उपाध्यक्षका लागि १ जना र स्थानीय तह सदस्यतर्फ ४३ गरी कुल ५२ रिक्त पदमा निर्वाचन हुँदैछ । प्रतिनिधि सभा सदस्यतर्फ ११, प्रदेश सभा सदस्यतर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दलहरू सहभागी भएका छन् ।