प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि अहिले बिभिन्न ३७ जिल्लामा मतदान भैरहेको छ । निर्वाचन आयोगका अनुसार उपचुनाव अन्तर्गत अहिले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सबै ठाउँमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको र सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको जानकारी दिए । बिहान ७ बजेदेखि मतदान सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।
आयोगले नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई लाइनमा नबसी मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र पालिकाका विभिन्न पदका लागि २ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उपचुनावमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ ।
मतदानका लागि सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शंका, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन निर्वाचन आयोगले सबैसँग आग्रह गरेको छ ।





प्रतिक्रिया