देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भारत रिसाउने डरले प्रचण्ड चीन गएनन्

देशान्तर

काठमाडौं । सरकार कूटनीतिक क्षेत्रको भुँमरीमा नराम्रोसँग फसेको छ । अपरिपक्व कूटनीतिक चालका कारण सरकारले एकपछि अर्को असफलता व्यहोर्नु परिरहेको छ । सम्पूर्ण मुलुक राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा एकजुट हुँदा र प्रमुख प्रतिपक्षी दलले समेत खुलेर साथ दिएको अवस्थामा पनि सरकारले देशको महत्वपूर्ण भूभाग अर्को देशले कब्जा गरी नक्सामा समेत समावेश गरेकोमा सम्बन्धित देशसित अहिलेसम्म सामान्य वार्तासमेत गर्न नसक्नुले सरकारको स्थिति उदांग पारेको छ ।

भारतले ५७ वर्षदेखि गर्न नसकेको दुस्साहस गर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो देशको नक्साभित्र समावेश गरेकोमा सरकारले अहिलेसम्म भारतीय राजदूतलाई बोलाएर विरोध जनाउने हिम्मत गर्न सकेको छैन भने प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न भनी विशेष दूतका रूपमा खटाएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई मोदीले आफूसँग भेट नगर्ने बुझेपछि भारत जाने आँट गरेनन् । ओलीको यो प्रयास दुई देशबीच वार्ता नै नभई तुहिएको छ ।

त्यस्तै नेकपाका प्रमुख कार्यकर्ताहरूलाई चीन लगेर साम्यवादबारे प्रशिक्षण दिने पूर्व निर्धारित कार्यक्रमको आड लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) स्वयं चीन जाने र भारतले कब्जा गरिआएको भूभागलाई औपचारिकता दिएपछि उत्पन्न चुनौतीको सामना गर्न आफ्नो सबैभन्दा निकटस्थ मित्र र संरक्षक चीनसँग छलफल गर्न जान लागेकोमा सो भ्रमण स्थगित भयो । स्थगित नभएको भए प्रचण्ड अस्ती मंगलबार बेइजिङ जाने तय भइसकेको थियो । प्रशिक्षणको लागि जाने टोलीको नेतृत्व पार्टी अध्यक्षले गर्नु कदापि शोभनीय हुँदैन ।

यसअघिको कार्यक्रममा चिनियाँ स्कुल विभागले स्कुल विभागको वरिष्ठ नेताको नेतृत्वमा टोली पठाएको थियो जसले नेकपाका मध्यमस्तरीय नेताहरूलाई कम्युनिज्मप्रति आस्था र विश्वास जगाउने प्रकारको शिक्षा दिएको थियो । यसपल्ट नेकपाले भारतसित उत्पन्न द्वन्द्वको सन्दर्भमा चीनको नेतृत्वस्तरसँगै गम्भीर रूपमा सल्लाह गर्ने र भारतलाई दबाब दिन आग्रह गर्ने मनसायले पार्टी अध्यक्ष प्रचण्डलाई नै पठाउने चाहना राखेपछि चिनियाँ राजदूतावासले राष्ट्रपति सि जिनफिङकै निम्ता झिकाइदिएको थियो ।

तर यतिखेर प्रचण्ड चीन जानुको मुख्य कारणबारे भारत अनभिज्ञ नहुने र यसबाट भारत सरकार झन् चिढिने डरले प्रचण्डको भ्रमण स्थगित गरियो । कालापानी मामलामा चीनले नेपालभन्दा भारतलाई नै सहयोग पुर्याउने स्पष्ट भइसकेको छ । तर यतिसम्म जानकारी नराखी प्रचण्ड चीन जान खोज्नु सरकारको कूटनीतिक क्षमताको टाट उल्टाई हो ।

अर्कोतिर राष्ट्रपति सिलाई भेट्ने इच्छा राख्नु र राष्ट्रपतिले निम्ता पठाइसकेपछि भ्रमण स्थगित गरेकोमा चीनले पनि आफ्नो अपमान ठानेको बुझिन्छ । कूटनीतिक अपरिपक्वताका कारण यसरी सरकार अन्तर्राष्ट्रिय समुदायबीच घरको न घाटको हैसियतमा पुगेको छ ।