देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय समितिको बैठक : देउवा इतरद्वारा बहिष्कार

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । केन्द्रीय समिति बैठकमा सभापति शेरवहादुर देउवाले सबै निर्णय आगामी महाधिवेशनलाई प्रभावित गर्ने गरी गर्न लागेकाले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने बैठक बहिष्कार गरेको छ ।

सबै निर्णय प्याकेजमा सहमतिबाट गरौ भन्ने पौडेलको प्रस्तावलाई देउवाले ठाडै अस्वीकार गरेकाले यो स्थिति उत्पन्न भएको हो ।

सभापति देउवा महत्वपूर्ण विभागहरु आफ्नो पक्षको नेतृत्व र वहुमत हुनुपर्ने कुरामा अडान लिइरहेका छन् भने अर्को पक्ष विभागको महत्व हेरी योग्यता, क्षमताको आधारमा निर्णय गर्नुपर्ने कुरामा जोड दिइरहेको छ ।

त्यस्तै देउवा नेपाल विद्यार्थी संघको नेतृत्व विधानले तोकेकोभन्दा बढी उमेर भएका राजिव ढुंगानालाई नै बनाउनुपर्ने अडानमा छन् ।

यसैगरी तरुण दलमा पनि देउवा यसअघि संगठनलाई पूर्णतासमेत दिन नसकी समय गुजारेका र अवैधानिक ढंगले महामन्त्रीलाई निष्कासित गरी विवादास्पद काम गरेको कारण महामन्त्रीबाटै निष्काशनमा परेका जितजंग बस्नेतलाई नै म्याद थपेर जिम्मेदारी दिने तयारीमा छन् ।

पौडेलको नेतृत्वमा भएको बहिष्कारलाई अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले पनि साथ दिएको छ ।

संस्थापन इतर पक्ष यतिखेर बैठक बहिष्कार गरेर पार्टी कार्यालयकै अर्को कोठामा बसिरहेको छ । सभापति देउवा आफ्नो जिद्धि छोडेर सहमतिका साथ निर्णय गर्न तयार भएमा उनीहरु बैठकमा सहभागी भई आगामी कार्यसमितिको पदावधिको थप, महाधिवेशनको कार्यतालिका निर्माण, हालै सम्पन्न उपनिर्वाचनको समीक्षा, भातृ संगठनहरुको व्यवस्थापन, विभागहरु गठन लगायतका विषयमा छलफल गर्न तयार भएको बुझिन्छ ।

उक्त पक्ष महाधिवेशन मुखैमा आइपुगेको बेला विभाग गठन गर्नुपर्ने आवश्यकता नरहेको र गठन गरेपनि विधानमा व्यवस्था भएको संख्यामा नबढाईकन सहमतिको आधारमा गर्नुपर्ने पक्षमा छ ।