काठमाडौं । प्रचण्ड निकट न्याय परिषद्का सदस्य पदम वैदिक सर्वोच्चको न्यायाधीश नहुने घोषणा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुटवलको एक सार्वजनिक कार्यक्रममा गरेपछि उक्त पदको लागि त्रिकोणात्मक संघर्ष हुने देखिएको छ । खालि न्याय परिषद्को सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओली एमाले निकट वरिष्ठ अधिवक्ताद्वय विजयकान्त मैनाली वा महेश नेपालमध्येबाट बनाउने निचोडमा पुगेका छन् भने न्याय परिषदले पूर्णता पाएपछि मैनाली वा नेपालमध्येबाट सर्वोच्चको रिक्त न्यायाधीश बनाउने दाउमा छन् ।
गत २५ गते बसेको न्याय परिषद्को बैठकमा प्रधानन्यायाधीश राणाले वैदिकको प्रस्ताव प्रस्तुत गरेनन् । न्याय क्षेत्रका कर्मचारीको सरुवाबढुवाको तयारीमै बैठक सकियो । अब न्याय परिषद्को बैठक परिषद्ले पूर्णता पाएपछि मात्र बस्ने बताइन्छ । त्यसमा प्रधानन्यायाधीश मुख्य न्यायाधीशहरूमध्येबाट सर्वोच्चको न्यायाधीश बनाउने लविङमा लागेका छन् । उनले प्रधानमन्त्री निकटहरूलाई अघिल्लो पटकको नियुक्तिमा वकिलहरूबाट बढी परेकोले सर्वोच्चमा अब न्यायपालिकाबाटै नियुक्त गर्न प्रधानमन्त्रीलाई कन्भिस गर्ने आफू निकटहरूलाई बताउन थालेका छन् । प्रधानन्यायाधीश राणाले यस्तो चर्चा सुरु गरेसँगै मुख्यन्यायाधीशद्वय कुमार चुँडाल र हरि पोखरेल आफू बन्ने दौडधुपमा लागेको बुझिएको छ ।
अर्कोतर्फ स्वास्थ्यबाट फालिएका कानुनमन्त्री उपेन्द्र यादव भने सर्वोच्चको न्यायाधीशमा तराईको प्रतिनिधित्व हुनुपर्छ भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोको नाम प्रस्ताव गर्ने पक्षमा छन् । तर पनि उनी परिषद्मा एक्लो सदस्य भएकोले प्रधानमन्त्री वा प्रधानन्यायाधीशकै प्रस्ताव पास हुने सूत्रहरूको दाबी छ । त्यसैले त्रिकोणात्मक भनिए पनि प्रतिस्पर्धा ओली र राणाबीच नै हुने बताइन्छ ।





प्रतिक्रिया