काठमाडौ । नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनभित्र गर्ने तयारी गरेको छ।
विवाद हल गर्ने जिम्मेवारी पाएका वार्ता समितिका संयोजक उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच अर्को वर्ष फागुनसम्म महाधिवेशन गरिसक्ने गरी अघि बढ्ने सहमति भएको छ।
सभापति शेरबहादुर देउवाले निधि र बरिष्ठ नेता पौडेलले सिंहलाई विवाद समाधानका लागि वार्ता गर्ने जिम्मेवारी दिएपछि पटकपटक वार्ता भए पनि अहिलेसम्म ठोस सहमति बन्न सकेको थिएन।
सिंह निवास चाक्सीबारीमा आइतबार बसेको बैठकमा दुवै पक्ष ०७७ फागुनभित्रै महाधिवेशन गर्ने सहमतिमा पुगेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले जानकारी दिए।
‘२०७७ फागुनभित्रै महाधिवेशन गर्ने पक्षमा हामी पुगेका छौं। शीर्ष नेताले छलफल गरेपछि यो विषय टुंगिन्छ,’ बडुले भने, ‘उपसभापति निधिले यो कुरा सभापति देउवालाई जानकारी गराउनुहुन्छ।’
उनले महाधिवेशन गराउन पार्टी्भित्र यति ठूलो विवाद हुनु नपर्ने पनि बताए।
सभापति देउवा अहिले नै महाधिवेशनको कार्यतालिका जारी गर्ने पक्षमा नदेखिएपछि पौडेलले लगातार पाँच दिन केन्द्रीय समिति बैठक बहिष्कार गरेर दवाव दिएका थिए।
सभापति देउवा पक्षले पार्टीको संघीय विधानअनुसार सबै निकायमा समायोजन नसकिएको दाबी गर्दै अहिले महाधिवेशनको कार्यतालिका बनाउन नसकिने बताउने गरेको थियो।
कांग्रेसले प्रदेश बाहेक पार्टीका अरू निकायमा सहमतिमै अन्तरिम संरचना तयार गर्ने सहमति गरेको थियो।
दुई साताअघि सभापति देउवाले पौडेल पक्षको बहिष्कारबीच ९ एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका छन्। २८ विभागलाई बृद्धि गरी ४१ र्पुयाउने र ती विभाग पूर्णता दिने मुख्य एजेन्डा छ।
पौडेल पक्षले विभाग बढाउनु विधान विपरीत हुने बताएको छ। सभापतिले निर्वा्चित भएको दुई महिनाभित्र बनाइसक्नुपर्ने विभाग चार वर्षसम्म गठन नगरेको र अहिले महाधिवेशनलाई प्रभाव पार्ने गरी गठन गर्न खोजेको पनि पौडेल पक्षको आरोप छ।





प्रतिक्रिया