काठमाण्डौं । पुर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज ९६ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाईंदैछ। भट्टराईको जन्म विक्रम सम्बत् १९८१ पुस आठ गते भारतको बनारसमा भएको थियो।
नेता भट्टराईले नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पार्न महत्वपूर्ण भूमिका खेलेका थिए। २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन हुँदा उनी संस्थाका महामन्त्री रहेका थिए।
प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराई २०१६ सालमा प्रतिनिधिसभाका सभामुख बनेका थिए।
२०४६ को जनआन्दोलनले ३० वर्षे पञ्चायती शासन अन्त्य गरेपछि भट्टराई अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। नेपाल अधिराज्यको संविधान, २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व भट्टराईले सफलतापूर्वक बहन गरेका थिए।
पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि उनी पुनः एकपटक प्रधानमन्त्री बनेका थिए। स्वर्गीय भट्टराईलाई सादगी जीवन शैली अपनाउने निःस्वार्थी राजनीतिज्ञको रुपमा स्मरण गर्ने गरिन्छ।





प्रतिक्रिया