काठमाडौ । हुण्डी कारोबारमा संलग्न चार जनालाई साढे १३ लाख रकमसहित प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले न्युरोडका विभिन्न स्थानमा छापा मारी तीन कारोबारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं २४ का गोपाल अग्रवाल, ताहचलका कमल अग्रवाल, सुनसरी धरान २ का नारायणकुमार अग्रवाल र सिन्धुपाल्चोक मेलम्चीका भोला नेपाल छन्।
भोलाको साथबाट ९ लाख ५० हजार रूपैयाँ नगद बरामद भएको छ। उनको साथमा रहेको विभिन्न बैंकका ६४ लाख ९९ हजारको चेक बरामद गरिएको महाशाखाले जनाएको छ। कमलको साथबाट २ लाख रूपैयाँ बरामद भएको छ। उनको साथबाट १४ लाख रूपैयाँको चेक बरामद भएको छ। नारायणको साथबाट प्रहरीले दुई लाख दुई हजार रकम बरामद गरेको छ। उनको साथबाट ७८ लाख ९९ हजार रूपैयाँको चेक बरामद भएको छ।
गोपाल इन्द्रचोकस्थित ईजोन पसलका सेल्स स्टाफ हुन्। उनी हुण्डी कारोबारमा संलग्न देखिएपछि पक्राउ गरिएको महाशाखाले जनायो। उनीहरूलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको छ।





प्रतिक्रिया