काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालयमा सम्पन्न जिल्ला सभापतिहरुको भेलामा नेपाल विद्यार्थी संघ (नेविसंघ)का अनशनकारी नेताहरुले नेविसंघको विधान विपरित ३२ वर्षे उमेर हदमाथिको नेविसंघ समिति बनाए आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।
रिले अनशनको २२औं दिन आज नेविसंघ नेता नवराज त्रिपाठीले भेलालाई सम्बोधन गर्दै केन्द्रीय समितिले नेविसंघको विद्यमान विधान विपरित नयाँ कार्यसमिति बनाएका आमरण अनशन बस्ने चेतावनी दिएका हुन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरु उपस्थित उक्त भेलाले त्रिपाठीलाई अनशनकारीहरुको तर्फबाट आफ्नो मागहरु राख्ने अवसर दिएको थियो ।
भेलामा त्रिपाठीले नेपाली कांग्रेसको केन्द्रीय समितिले जारी गरेको नेपाल विद्यार्थी संघको विधान– २०२७ को सातौं संशोधनमा नेविसंघको सदस्य बन्न ३२ वर्ष उमेर हद ननाघेको हुनुपर्ने भन्ने प्रावधानलाई पालना गर्न नेताहरुको ध्यानाकर्षण गराएका हुन् ।
उनले विधानको सोही प्रावधान अनुसार २० वटा जिल्ला अधिवेशनहरु सम्पन्न भइसकेको र ४० जिल्लामा तल्ला कमिटीहरु बनिसकेको जानकारी गराउँदै नेताहरुले त्यसलाई मनन गर्दै नयाँ कमिटीको घोषणा गर्न आग्रह गरे ।
‘नेविसंघको ७० प्रतिशत अधिवेशन नयाँ विधान बमोजिम सम्पन्न भइसकेको छ । त्यसैले पार्टीले गर्ने केन्द्रीय समितिको घोषणा पनि सोही बमोजिम हुनुपर्छ भन्ने हाम्रो माग हो’, त्रिपाठीले भेलामा भने, ‘हामीले अनौपचारिक रुपमा केन्द्रीय नेतृत्वले ५० वर्ष उमेर हाराहारीको व्यक्तिलाई अध्यक्ष बनाउन लागेको जानकारी पाएका छौं, त्यसलाई रोक्न हामी रिले अनशनमा बस्नुपरेको हो ।’
त्रिपाठीले विधानको पालना गर्दै जोसुकैलाई पनि नेविसंघको नेतृत्व दिएर कमिटी बनाएपनि आफूहरु उक्त कमिटीलाई बाहिर बसेर सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
‘अहिले पार्टीमा नेविसंघ अध्यक्षको रुपमा एकजना व्यक्तिको नाम प्रस्ताव भएको भन्ने सुनेका छौं जो ३२ हैन करिब करिब ५० को हाराहारीमा हुनुहुन्छ । आधिकारिक रुपमा नेताहरुसँग कुरा गर्दा पनि त्यही भनिएको छ ।तर हाम्रो लागि विधान विपरितको निर्णय कुनै पनि हालतमा मान्य छैन’, त्रिपाठीले भने, ‘विधान अनुकुल हुनेगरी आफ्नो मन लागेको व्यक्तिको नाममा कमिटी बनाउनुुस त्यो कमिटीलाई हामी बाहिर बसेर सहयोग गर्न तत्पर छौं । अहिले जसरी अनसन गरिरहेका छौं त्योभन्दा पनि दुःख गरेर त्यो समितिलाई सहयोग गर्नेछौं ।’
जिल्ला सभापतिहरुको भेलाले विधान बमोजिमकै नेविसंघ कमिटी गठन गर्नुपर्ने सुझावसहितको निष्कर्ष सभापति शेरवहादुर देउवालाई दिने भेलामा सहभागी एक नेताले देशान्तरलाई बताए ।





प्रतिक्रिया