देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शहीदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको छ : अध्यक्ष यादव

देशान्तर

लहान । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले शहीदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको बताएका छन् ।

१३ औं मधेश बलिदानी दिवसको अवसर पारेर लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको सालिकमा माल्यार्पण गर्दै अध्यक्ष यादवले शहीदहरुको सपना अझै पूरा हुन नसकेकाले सङ्घर्ष जारी रहेको बताए ।

शहीदहरुको बलिदानीलाई खेर जान नदिने बताउँदै अध्यक्ष यादवले शहीदहरुको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे । मधेश आन्दोलनको उद्गमस्थल लहानमा रहेका शहीदहरुको सालिकमा समाजवादी पार्टीका अध्यक्ष यादवसहित प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव सहितका नेता तथा कार्यकताहरुले माल्यार्पण गरे । मधेश आन्दोलनका क्रममा रमेश महतोको मृत्यु भएको सम्झनामा माघ ५ गतेलाई समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन् ।

दिवसको अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारले पर्साको वीरगञ्जमा विविध कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश २ सरकारले अघिल्लो वर्ष माघ ५ गते सिरहाको लहानमा बलिदानी दिवस मनाएको थियो । यस्तै दिवसको अवसरमा आजै डा। सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुर गाउँपालिकामा कार्यक्रमको आयोजना गरेको छ ।