काठमाण्डौ । राष्ट्रिय सभा अन्तर्गत १८ पदका लागि हिजो (माघ ९ गते) भएको चुनावमा नेकपाले उठाएका सबै उम्मेदवार विजयी भएका छन् । प्रदेश २ मा राजपासँग २र२ सिट भागबण्डा गर्दै चुनावमा होमिएको नेकपाले अन्य प्रदेशमा भने एकल उम्मेदवारी दिएको थियो । नेकपाले चुनावमा उठाएका १६ जना उम्मेदवार नै विजयी भएका हुन् । काग्रेसले भने पहिले जितेको ७ सिट पनि गुमाएको छ । यसरि हेर्दा यो चुनाव नेकपालाई फाइदै फाइदा र कांग्रेसलाई घाटा भएको देखिन्छ ।
क-कस्ले जिते?
प्रदेश १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल विजयी भए ।
प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान विजयी भए । प्रदेश २ मा नेकपाले राजपासँग तालमेल गरेर चुनाव लडेको थियो । जसमध्ये महिला र दलित नेकपाले लिएको थियो भने अल्पसंख्यक र अन्यतर्फको उम्मेदवार राजपाले उठाएको थियो । प्रदेश २ मा गठबन्धन तर्फका राजपाका उम्मेदवार शेखर प्रसाद सिंह र मृगेन्द्रकुमार सिंह विजयी भए ।
प्रदेश २ मा राजपालाई २ सिट र आफूलाई २ सिट राखेर नेकपाले राजपासँग तालमेल गरेको हो । यस्तै प्रदेश ३ बाट महिलामा गङ्गा बेलबासे र अन्यमा वेदुराम भुसाल विजयी भएका हुन ।
गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ विजयी हुँदा महिला तर्फ भगवती न्यौपानेले जित हात पारे । प्रदशे ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी भएका छन् ।
प्रदेश ६ मा महिलाबाट सुनिता बिसी र अन्यबाट मायाप्रसाद शर्मा विजयी हुँदा सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदा भट्ट र अन्यबाट तारामान स्वाँरले जित हात पारेका छन् ।
मतपरिणाम सार्वजनिक भएसँगै राष्ट्रिय सभामा प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट चार जना, वागमती प्रदेशबाट दुई जना, गण्डकी प्रदेशबाट दुई जना, प्रदेश ५ बाट तीन जना, कर्णाली प्रदेशबाट दुई जना र सुदूरपश्चिम प्रदेशबाट दुई जना गरी कुल १८ जना छानिएका हुन् ।

कांग्रेसलाई घाटा:
राष्ट्रिय सभामा रहेका कांग्रेसका १३ जनामध्ये सात जना दुई वर्षे कार्यकाल सकेर बाहिरिने भएका छन् । सात जनालाई बिदा गर्दा कांग्रेसले एक सिटमा पनि जित हात पार्न सकेन । यस्तै समाजवादी पार्टीका दुई जनामध्ये एक जना बिदा भएका छन् । उसले पनि बिदा भएर जाने सिटमा पूर्ति गर्न सकेन ।
यो चुनावबाट कांग्रेस र समाजवादीका सदस्य बिदा हुँदा नेकपालाई भने फाइदा भएको छ । नेकपाका आठ जना दुई वर्षे कार्यकाल सकेर बिदा हुँदै गर्दा त्यसमा आठ जना थपिएर १६ जना नयाँ अनुहार प्रवेश गर्ने भएका हुन् । राजपाले भने आफ्नो गुम्न लागेको दुई वटा सिट नेकपासँगको तालमेलबाट जोगाएको हो । उसको पनि नयाँ अनुहार राष्ट्रिय सभामा प्रवेश गरेका छन् ।
५९ सदस्यीय राष्ट्रिय सभामा १३ सिट पाएको कांग्रेसलाई चिठ्ठा तान्दासमेत घाटा लागेको थियो ।
कुन दलबाट को बाहिरिए:
पहिलो दुई वर्षको कार्यकाल पूरा गरेर बाहिरिनेमा सत्तारुढ नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली रहेका छन् ।
यस्तै कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईँसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडा बाहिरिनुभएको छ ।
राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवान पनि बाहिरिने भएक छन ।





प्रतिक्रिया