काठमाडौं । काँग्रेसभित्रको आन्तरिक समस्या समाधान भएको छ । शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको शीर्ष नेताहरुबीचको बैठकले लामो समयदेखि यथावत विवादलाई टुंगो लगाएको हो ।
पुस ११ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयमा केन्द्रीय महाधिवेशनबाहेक अन्य निर्णयहरु फेरि केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्ने सहमति भएको हो ।
काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले लामो समययता जारी रहेको विवादमा शुक्रबार सहमति जुटेको भन्दै विवादित विषय पुन केन्द्रीय समिति बैठकमा लगेर टुंग्याइने जानकारी दिए ।
यसैबीच काँग्रेसले आगामी माघ १३ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौड्यालले जानकारी दिए । यस्तै नेपाल विद्यार्थी संघको १२७ सदस्यीय तदर्थ समिति बनाउने सहमति बनेको छ । आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुसहितको बैठकले सहमति निकालेको हो ।
देउवा दिवास बुढानिलकण्ठमा बसेको बैठकले १२७ सदस्यीय तदर्थ समिति बनाउने निर्णय गरिएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी गराए । तदर्थ समितिमा सबैलाई समेटेर लाने निर्णय भएको उनको भनाई छ ।
तदर्थ समितिमा सभापति देउवा, वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले सिफारिश गरेका नामहरु रहनेगरी सहमति बनाइएको हो । सहमतिपछि नेविसंघ तदर्थ समितिमा पदाधिकारी र सदस्य बन्नेको दौडधूप चलेको छ । नेविसंघ लामो समययता नेतृत्वविहिन छ ।





प्रतिक्रिया