सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाले राष्ट्रपतिबाट आज सपथ लिँदै छन्। बिहान ११ बजे राष्ट्रपति कार्यालयमा उनको सपथ ग्रहण समारोह हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वाचित भएका हुन्। सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्री भैसकेका छन्।
उनलाई नेकपाले सभामुख बनाउने निर्णय गरेपछि राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले राजिनामा दिएका थिए। द्वन्दकालमा काभ्रेमा मारिएका अर्जुन लामाको हत्या आरोप लागेकाले सापकोटालाई कारबाही गर्न माग गर्दे प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसैले उनलाई सभामुख बनाउने निर्णयपछि प्याकुरेलले राजिनामा दिएका हुन्।
सभामुख निर्वाचित भएपछि संसद भवनबाट बाहिरिने क्रममा सापकोटाले आफूले लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्ने बताए। ुलोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्न जनताको सार्वभौम संस्थाको ओज, गरिमा कायम राख्न तटस्थ निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न सधैंभरि लागि रहनेछुु, सापकोटाले भने।





प्रतिक्रिया