काठमाडौं : चार लाख ३१ हजार नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
सीआईबीका अनुसार यो गिरोहले विगत केही महिनादेखि उपत्यकामा नक्कली नोट देखाइ ठगी गर्दै आएका थिए। पक्राउ पर्नेमा सल्यानका कमल बुढाथोकी भन्ने कोवी राम बुढाथोकी, काभ्रे पाँचखालका बलबहादुर रानामगर, डोटीका आर्यान खड्का, र धनकुटाका छत्र बहादुर लिम्बु छन्।
पक्राउमध्ये रानामगर नक्कली नेपाली नोट छपाइ गर्ने मुख्य व्यक्ति हुन्। प्रहरीले उनीबाट ९० हजार नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने फोटोकपी मेसिन, फोटोकपी पेपर लगायतका समान बरामद गरेको छ। बुढाथोकी भने बजारमा नक्कली नोट पुर्याउने मुख्य व्यक्ति रहेको सीआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए। उनका अनुसार बुढाथोकीबाट नक्कली दुई लाख ९८ हजार रुपैयाँसमेत बरामद भएको छ। खड्का र लिम्बु भने बुढाथोकी र रानामगरका सहयोगी हुन्। प्रहरीले खड्काबाट २५ हजार नक्कली नोट बरामद गरेको छ।





प्रतिक्रिया