काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको वुहानमा रहेका नेपालीलाई उद्धार गर्न सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगाउँन नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु, दुस्खद र आपत्तिजनक भएको बताएका छन् ।
सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “कयौं देशले चीनको वुहान सहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन् । तर त्यहाँ रहेका करिब एक सय नेपाली विद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु, दुस्खद र आपत्तिजनक छ । कोरोना भाइरसको संक्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु ।”
सभापति देउवाले कोरोनाका कारण जीवन गुमाएका सबै चिनियाँ नागरिकको परीवार र चीन सरकारप्रति नेपाली कांग्रेसकातर्फबाट समवेदनासमेत व्यक्त गरेका छन् ।
सभापति देउवाले भाइरस नियन्त्रणकालागि चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रशंसासमेत गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्तराष्ट्रीय रुपमा संक्रमण फैलिन सुरु गरेको आजको स्थितिमा बिश्व स्वास्थ्य संगठन द्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले सुरु गरेको सम्पुर्ण सतर्कतासँगै नेपालले राख्नुपर्ने सतर्कता र सरकारले युद्दस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे सजग गराउँदै म सार्वजनिक अपिल गर्न चाहान्छु ।”





प्रतिक्रिया