काठमाण्डौ । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि उच्चस्तरीय समिति बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शुक्रबार) उच्चस्तरीय समितिसहित तीनवटा समिति गठन गरेको हो ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति गठन भएको छ । स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डाक्टर दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
चीनको वुहान शहरमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि आउनसक्ने भएकाले उच्च सतर्कतासहित काम गर्न समिति गठन गरेको प्रवक्ता श्रेष्ठले बताए ।
यस्तै उहाँले नेपालमा अहिले आत्तिइहाल्नु पर्ने अवस्था नआएको पनि बताए ।
डाक्टरसहितको टोली आज केरुङ र तातोपानी पुग्यो:
यस्तै, कोरोना भाइरसबारे जाँच, स्वास्थ्यकर्मीलाई तालिम र चेतना अभिवृद्धि कार्यक्रमका लागि डाक्टरसहितको टोली आज (शुक्रबार) केरुङ र तातोपानी नाकामा पुगेको छ ।
स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहितको टोली त्यसतर्फ गएको प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।





प्रतिक्रिया