काठमाडौं । नेपाल विद्यार्थी संघका संस्थापक सदस्य तथा नेपाली कांग्रेसका नेता प्रेमनाथ अर्यालको ७६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । गुल्मी मालिका गाउँपालिका–८ मा २००१ सालमा जन्मिएका अर्याल पछिल्लो समय मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए ।
इतिहासमा स्नातकोत्तर अर्याल कानुनमा तथा संस्कृत विषयमा शास्त्रीसमेत रहेका थिए । करिब दुई दशक लामो समयसम्म गुल्मीको रेसुंगा क्याम्पसमा अध्यापन गरेर क्यामपस प्रमुखको जिम्मेवारी निभाएका अर्याल कांग्रेस राजनीतिमा पनि सक्रिय थिए । उनी पञ्चायतकालमा पटकपटक गरी ५ पटकभन्दा बढी जेल गएका थिए ।
निष्ठावान राजनीति र समाजसेवीका रूपमा चिनिएका अर्याल कांग्रेस जिल्ला सचिव, महासमिति सदस्यलगायतका विभिन्न जिम्मेवारीमा रहनुका साथै बाल संगठन, नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न शैक्षिक संस्थामा संलग्न थिए । उनले २०५८ सालमा राष्ट्रिय शिक्षा पुरस्कारसमेत पाएका थिए ।
उनको शनिबार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनीको पार्थीव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली दिएका थिए भने नेता रामचन्द्र पौडेल, महामन्त्री शसांक कोइराला, नेता प्रकाशमान सिंह, केन्द्रीय सदस्य दीपक गिरी, नवीन्द्रराज जोशीलगायतका नेता तथा कार्यकर्ता पशुपति पुगेका थिए ।





प्रतिक्रिया