सरकारले चीनबाट उद्धार गरेर ल्याउने नागरिकलाई राख्ने ठाउँ क्वारेन्टाइनको टुंगो आज लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सेना र प्रहरीका चिकित्सकसमेतको पाँच सदस्यीय टोलीले हिजो सम्भावित २५ स्थानको अवलोकन गरेको छ । तर, निर्णय भइनसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।
प्रवक्ता श्रेष्ठले आज कहाँ राख्ने भन्ने निर्णय हुने बताउनुभयो । उहाँका अनुसार सरकारले बढीमा चार दिनभित्र चीनबाट नागरिक ल्याउने तयारी गरेको छ । सरकारले चीनबाट फर्किनेहरूलाई एउटा कोठामा तीनजनाका दरले राख्ने प्रबन्ध गर्दै छ । उनीहरूका लागि बेड, लुुगाजस्ता विभिन्न ३७ थरी सामग्री आवश्यक पर्ने चिकित्सकको भनाइ छ ।
चीनको हुबेई प्रान्तबाट फर्काइनेहरूलाई राखिने विभिन्न स्थानका विषयमा सेनाले तयारी गरिरहेको र आज प्रधानमन्त्री कार्यालयमा विस्तृत ब्रिफिङ गरिने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो । सरकारले प्राणघातक भाइरस संक्रमितहरूको उपचार गर्न तीन सय शय्या क्षमताको छुट्टै अस्पताल बनाउने प्रक्रिया अघि बढाएको छ ।





प्रतिक्रिया