देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ललिता निवास जग्गा प्रकरण : ३ पूर्वमन्त्रीसहित १७५ विरुद्ध मुद्दा दायर

देशान्तर

काठमाडौं . ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्री र तीन पूर्व सचिवसहित १ सय ७५ जना विरुद्द मुद्दा दायर गरेको छ।
तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ दुवैविरुद्ध ९ करोड ६५ लाख ७६ हजारका दरले बिगो माग दाबी गर्दै मुद्दा दायर भएको छ।
पूर्वमन्त्री चन्द्रदेव जोशीलाई ७ करोड ८ लाख ४८ हजार बिगो माग दाबी गरिएको छ।
त्यसैगरी पूर्वसचिव दीपकुमार बन्स्यात र छवि पन्तविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको छ।
पूर्वसचिव दिनेशहरि अधिकारीविरुद्ध पनि ७ करोड ८ लाख ४८ हजार बिगो माग दाबी गरिएको छ।
बालुवाटारस्थित १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा १ सय ७५ जना विरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ।
सोही प्रकरणमा मुछिएका नेता माधव कुमार नेपाल र विष्णु पौडेलविरुद्ध भने मुद्दा दायर गरिएको छैन।
ललिता निवासको ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा सिआइबी र अख्तियारका छुट्टा छुट्टै टोलीले अनुसन्धान गरेका थिए।

यस्तै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित हुनुभएको छ ।

उहा विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान पाउने छैनन् । यदि भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारको राजनीतिक जीवन समाप्त हुनेछ ।

राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन पाउँदैन । गच्छदार त्यो अवस्थामा कांग्रेस केन्दीय सदस्य समेत हुन पाउने छैनन् ।

यसअघि कांग्रेसका नेताहरु खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, जेपी गुप्तालगायतका नेता सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि राजनीतिक जीवन समाप्त भएको थियो ।