भक्तपुर : चाँगुनारायण नगरपालिकाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीमा राख्न नदिने भएको छ ।
शुक्रबारबाट सुरु भएको नगरपालिकाको छैटौँ नगरसभाले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारी निर्णयप्रति आपत्ति जनाएको हो । नगरपालिकाले सरकारलाई खरेपाटीको विकल्प खोज्न आग्रह गरेको छ ।
नगरप्रमुख सोमप्रसाद मिश्रले भन्नुभयो, ‘घनाबस्ती रहेको खरिपाटीमा चीनबाट फर्किएका नेपाली राख्ने निर्णय गलत छ । सरकारको निर्णयप्रति स्थानीय जनताले समेत विरोध जनाएका छन् । खरेपाटीको विकल्प खोज्दै उनीहरुलाई अन्यत्र राख्न सरकारसँग माग गर्छौं।’
नगरपालिकाको दुई नम्बर वडाका अध्यक्ष शिवहरि केसीले कोरोना भाइरसलाई गम्भीर रुपमा नलिएको र बस्तीको बीचमा क्वारेन्टाइन राख्न खोज्दा जनता त्रसित बनेको बताउनुभयो । उहाँले नगरकोटको सडक ६ वर्ष नबन्दा नदेख्ने सरकारले क्वारेन्टाइन राख्ने ठाउँ भने यही देखेको टिप्पणी गर्दै सरकारले निर्णय नसच्याए जनता आन्दोलनमा उत्रिने बताउनुभयो ।
दुई नम्बर अध्यक्ष श्यामसुन्दर धिमालले बस्तीभन्दा दुई किलोमिटर टाढा क्वारेन्टाइन राख्नुपर्ने अन्तर्राष्ट्रिय मान्यतालाई सरकारले मिच्दै बस्तीको बीचमा चीनबाट फर्काइएका नेपाली राख्न खोजेको बताउनुभयो ।
सभामा बोल्ने नेकपा, नेपाली कांग्रेस र नेमकिपाका जनप्रतिनिधि एवं नगरसभाका सदस्यहरुले सरकारको निर्णय सच्याउँदै विकल्प खोज्न माग गरेका थिए ।
नगरपालिकाका उपप्रमुख विना बास्तोलाले नगरससरकारले राख्न लागेको क्वारेन्टाइन, चालू आ।ब। २०७६र०७७ को नीति तथा कार्यक्रमको समीक्षा लगायतको एजेण्डाहरु सभामा पेश गर्नुभएको थियो । सभा २७ गतेसम्म चल्नेछ ।





प्रतिक्रिया