देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसद्धारा तेस्रो दिनपनि संसदको बैठक अवरुद्ध

देशान्तर

 

पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको विरोधमा नेपाली कांग्रेसले लगातार तेस्रो दिनपनि संसदको बैठक अवरुद्ध गरेको छ । आइतवार बसेको प्रतिनिधिसभाको बैठकको शुरूमै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए ।

बिहीवार र शुक्रवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेस सांसदहरूलाई बोल्न दिएपनि कुरा सुनिसकेको भन्दै आइतावार बोल्न दिएनन् । कांग्रेसका सांसद दिलेन्द्र बडूले अन नै नभएको माइक समातेर बालुवाटारको ललिता निवासको जग्गा छानविन निष्पक्ष गर्न माग गरे ।

सभामुख सापकोटाले संसदको गतिरोध अन्त्य गर्न कांग्रेससँग विशेष आग्रह गरे । ‘आज समेत गरेर तीनपटक बैठक अवरुद्ध भइसकेको छ, संसदलाई जीवन्त, चलायमान र प्रभावकारी बनाउने साझा उदेश्यमा सहयोग गर्नुस्,’ सभामुख सापकोटाले भने, ‘माघ १४ गते मलाई बधाई दिँदा प्रतिपक्षी दलको नेताले निष्पक्ष होस् भन्नुभएको छ । बैठक अगाडि बढाएर मात्र सदनको प्रभावकारिता हुन्छ ।’

विगत गच्छदारको मुद्दा संवैधानिक आयोगले गरेको निर्णय भएको तथा अदालतमा गइसकेको विषयमा संसदले केही गर्न नसक्ने सभामुख सापकोटाले बताए ।

‘विषय अदालतमा प्रवेश गरिसकेको छ । यहाँबाट निरुपण हुन सक्दैन भन्ने प्रष्ट छ । अन्य सदस्यहरूले जनताको सरोकार र दलका भनाइ राख्नुपर्छ । फेरि मलाई अहिले पनि धेरै सदस्यहरूले जनताको कुरा उठाउन जिल्ला गएका छैनौं भनेर अनुरोध गरिरहेका छन् । दुई दिनसम्म कुरा उठाइसक्नु भएको छ । सदन अवरोध हटाउनुहोस्,’ सापकोटाले भने ।

कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारको सांसद पद निलम्बन भइसकेको छ । ‘मैले तपाईंको कुरा बुझेँ, दुई दिनसम्म मैले शालीनतापूर्वक कुरा सुनिसकेको छु । मैले बारबार कुरा सुनेको छु,’ सापकोटाले भने, ‘हामीलाई नेपाली जनताले मात्र होइन अन्तर्राष्ट्रिय जगतले नियकालिरहेका छन्, लोकतन्त्रको विकास र सुद्रिढीकरणका लागि सदनलाई चलायमान बनाउन छलपललको ढोका खोलिदिनुस् । मलाई सदन चलाउका लागि सहयोग गर्नुस् ।’

कांग्रेस सांसदहरूले उभिएर विरोध कायम राखेपछि सभामुख सापकोटाले संसदको बैठक मंगलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् । त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले सदन अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।