काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । आज (सोमबार) दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले उपसभापति विजय गच्छदारमाथि दायर मुद्दाको विषयमा नयाँ रणनीति लिनेछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री गच्छदारसहित १७५ जनालाई मुद्दा दायर गर्दा राजनीतिक पूर्वाग्रह राखिएको भन्दै काँग्रेस गत विहीबारदेखि आन्दोलित छ ।
अख्तियारले सोही प्रकरणका निर्णयकर्ता पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराई, तत्कालीन मुख्यसचिव लीलामणि पौडेल र सरकारी जग्गा खरिद गर्ने नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनमाथि मुद्दा दायर नगरेको विषयलाई काँग्रेसले मुख्य मुद्दा बनाएर सदन र सडकमा संघर्ष जारी राखेको छ ।
काँग्रेसका प्रमुख भ्रातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ सडक सङ्घर्षमा छन् । महिला संघले जान काठमाडौंको माइतीघरमा विरोध र्याली गर्दै छ ।
आजको बैठकमा यस विषयमा नयाँ रणनीति तय गरेरअघि बढ्नेबारे छलफल हुने काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार कस्तो रणनीति लिने भन्ने विषयमा बैठकले निर्णय लिनेछ ।





प्रतिक्रिया