चीनमा रहेका नेपालीले नोबल कोरोना भाइरसको महामारीबाट उद्धार खोजेको धेरै दिन भयो । नेपालमा उनीहरूका अभिभावक सरकारी निकायदेखि संवैधानिक अंगसम्म पुगेर हारगुहार मागिरहेका छन् ।
सरकारले बल्ल उनीहरूको उद्धार गर्न आफ्नो तयारीलाई अन्तिम चरणमा र्पुयाएको छ। ‘हामीले सबै आन्तरिक व्यवस्थापन गरिसकेका छौं’, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मंगलबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा भने ।
स्वास्थ्य मन्त्रालयको नेतृत्वमा अन्य मन्त्रालय र सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा उद्धारको पूर्वतयारी भएको हो ।
यसैबिच, चीनमा रहेका नेपाली ल्याउन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालले बुधबार तालिम दिँदैछ । ११ पुरुष र पाँच महिला रहेको चालक दलका सदस्यलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा ‘फिजिकल प्रोटेक्टिभ’ तालिम दिन लागिएको हो ।
इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका डा.हेमन्त ओझा नेतृत्वको टोलीले उनीहरुलाई तालिम दिनेछ ।
चीन जाने चालक दलका सदस्यको नाम गोप्य राखिएको छ। बिहीबार विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया