देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘जनयुद्ध दिवस’ मा प्रधानमन्त्री ओली अनुपस्थित !

देशान्तर

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइरहेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा एक श्रदाञ्जली सभा आयोजना गरी नेकपाले २५ औं जनयुद्ध दिवस मनाएको हो ।

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुँदा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित भए । यसअघि ओली पनि जनयुद्ध दिवसको कार्यक्रममा सहभागि हुने बताइएपनि अन्तिम समयमा आएर उनी अनुपस्थित भएका हुन ।

यसअघि नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त रुपमा सूचना जारी गरी ओली र प्रचण्ड दुवैको सहभागीतामा कार्यक्रम हुने जानकारी दिएका थिए ।

ओली जनयुद्ध दिवसको अवसरमा अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन् । प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सशस्त्र युद्ध सञ्चालन गरेको थियो । सरकार र माओवादी दुवै पक्षबाट १७ हजार जनाको ज्यान गएको सोही युद्धलाई ‘जनयुद्ध’ भन्ने गरिन्छ ।

२०६३ मंसिर ५ गते हतियार बिसाउँदै माओवादी शान्ति प्रक्रियामा आएको थियो । तत्कालीन जनयुद्धको बलमा भएको २०६२/६३को जनआन्दोलनले राजतन्त्र अन्त्य गरेको थियो । माओवादी बिभाजन भएर वैद्य समूह अलग भएको थियो । प्रचण्ड नेतृत्वको माओवादीले भने तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेको थियो । हाल प्रचण्ड एमाले र माओवादी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष छन् ।

यसैबीच जनयुद्ध र जनआन्दोलनका शहीदहरुको स्मृतिमा नेकपाका भ्रातृ संगठनहरुले आज बिभिन्न कार्यक्रम गर्दैछन् । आजै ११ बजे जनक्रान्तिका घाइते अपांग योद्धा संघले महाराजगञ्जस्थित रोयल पार्टी प्यालेसमा, जनसाँस्कृतिक महासंघले १ बजे पार्टी कार्यालय पेरिसडाँडामा र वेपत्ता योद्धा फाउन्डेशनले दिउँसो २ बजे जनपथ मावि कलंकीमा कार्यक्रम आयोजना गर्दैछन् ।  नेकपा सम्बद्ध अनेरास्ववियूले पाँच बजे माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गर्दैछ ।