देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरोनाभाइरस प्रकोपले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ

देशान्तर

चीनबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ ।

स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ भएको हो । चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरस प्रकोपका कारण अनुगमन टोली आउन समस्या भएको छ ।

माघको पहलो साता नै निर्माण सम्पन्न भइसकेको स्कुल प्रकोप नियन्त्रण भई मानिस आवतजावतमा सहज भएसँगै नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ । आवरणमा पुरानै ‘दरबार हाइस्कुल’ हो, कि जस्तो लागे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरी माघको पहिलो साता नै निर्माण सम्पन्न भइसकेको थियो ।

निर्माण कार्य पूरा गरे पनि निर्माण कम्पनीका पदाधिकारीले एकपटक अनुगमन गर्नुपर्ने र उहाँहरू कहीले आउने भन्ने विषय यकिन नभएकाले हस्तान्तरणको विषय अन्योलमा परेको हो । अनुगमन टोली माघको तेस्रो साता आउने कार्यतालिका रहे पनि कोरोनाभाइरस प्रकोपका कारण अन्योलमा परेको छ ।

भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम सकेर आँगन सफा गर्ने र झ्याल ढोका पुछ्ने काम गरी थप चिटिक्क बनाउने कार्य पनि सकिसकेको छ । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भएको सो विद्यालय पहिले जस्तै नै देखिन्छ ।

चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ । शुरुको समयदेखि १९ महिनामा सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरी सम्पन्न गरेका हुन् । रु ८५ करोडको लागतमा नौ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले र ४० कक्षाकोठाको छ । उक्त भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो ।

निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताउनुुभयो । “कोरोनाभाइरस प्रकोप सकिएपछि सरकारलाई हस्तान्तरण हुन्छ”, उहाँले भन्नुभयो । विसं २०७२ मा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको उक्त हाइस्कुलको पुनःनिर्माणको शिलान्यास २०७५ साउन १८ गते गरिएको थियो ।

विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था गरिएको थियो ।

विसं २०३० मा राष्ट्रिय शिक्षा पद्दति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हँुदै आएको छ । शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । दरबार हाइस्कुलको पुनःनिर्माणले त्यस आसपासलाई पनि सुन्दर बनाएको छ ।

सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्यामा भने कमी छ । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र विद्यालयमा अध्ययन गर्न आउने गरेका संस्कृत माविका प्राध्यापक बद्री दाहाल बताउनुहुन्छ । भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि दुवै सञ्चालित थिए । हाल ती दुवै विद्यालयमा गरी ३०० मात्र विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन् ।

ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ । लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सा पासका विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियोे ।

पछिल्लो समय सरकारले स्थानीय तहलाई जिम्मा दिने गरी दरबन्दी मिलान, विद्यार्थी र शिक्षक सङ्ख्याका आधारमा एकापसमा विद्यालय गाभ्ने विषयलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । शिक्षकको सङ्ख्याका आधारमा विद्यार्थी अनुपात सो विद्यालयमा पनि कम छ ।

एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी मान्यता छ । चिनियाँ सरकारसँग भूकम्पका कारण अति प्रभावित १४ जिल्लाका एक÷एक र अन्य तीन जिल्लामा गरी १७ विद्यालय निर्माण गर्ने सहमति भएको थियो । भूकम्पका कारण सात हजार ५०० विद्यालयमा क्षति पुगेको थियो ।